Nic Ad Nic Ad
Nic Ad Nic Ad

कालीगण्डकी क्षेत्रको जैविक विविधतामा ह्रास आउँदै

आइतबार, माघ १५, २०७९

म्याग्दी –शालिग्राम शिला पाइने पवित्र नदी कालीगण्डकी क्षेत्रमा मानवीय लापरबाही र जलवायु परिवर्तनका कारण जलचर र जैविक विविधता नासिन थालेको छ ।

बाढी पहिरो र अनियन्त्रित रूपमा जथाभावी नदीदोहनका कारण  म्याग्दीका म्याग्दीका नदीबाट जलचरप्राणी लोप हुँदै जान थालेका छन् भने जैविक विविधतामा समेत ह्रास आएको छ । 

प्राकृतिक र मानवीय कारणले जलसम्पदा नासिदै र प्रदूषित हुँदै जान थालेपछि जलचर प्राणीहरूको अस्तित्व नै खतरामा परेको पाइएको छ । कालीगण्डकी नदीबाट शालिग्राम लोप हुँदै गएको छ भने यहाँ पाइने असला माछा, चेपागाँडा, भुरा, गंगटो आदि हराउँदै गएका छन् ।

जथाभावी भइरहेको नदीदोहन, फोहरमौला विर्सजन तथा बाढी पहिरोका कारण कालीगण्डकी, म्याग्दी नदी र रघुगंगा नदीबाट जलचर प्राणी नासिनुका साथै यस क्षेत्रको जैविक विविधता खल्बलिदै गएको वन तथा वातावरण क्षेत्रका जानकार चन्द्रमणि सापकोटाले बताए ।

विगत ५ वर्षदेखि यी जलाधार क्षेत्रमा गएको पहिरो, बाढी र अत्यधिक मात्रामा भएको नदीहरूको दोहनका कारण यी नदीमा रहेका जलचर लोप हुँदै गएका उनको भनाइ छ । भगवान विष्णुको प्रतीक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको वासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रदेखि सदरमुकाम बेनीसम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माणाधीन जलविद्युत अयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भइ वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व संकटमा परेको सरोकारवाला बताउँछन् ।

नारच्याङ जलचर र जंगली जनावरको वासस्थानका लागि अत्यन्त अनुकुल स्थान भएको ठाउँ भनेर चिनिन्छ । पछिल्लो समय यहाँका नदीबाट विद्युत आयोजना निर्माण गर्ने होडबाजी नै चलेकाले यहाँका जलचर संकटमा परेका नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाले बताए ।

नारच्याङमा १५७ मेगावाटका ५ वटा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन अवस्थामा रहेका ती जलविद्युत आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी नै हुन् । त्यसैगरी बाढी पहिरो र नदीजन्य वस्तुको अप्राकृतिक उत्खनन् पनि जलचर नासिनुका मुख्य कारण रहेको वातावरण संरक्षणकर्मी बताउँछन् । 

म्याग्दी नदी, कालीगण्डकी र रघुगंगा क्षेत्रमा गएका पहिरो र पहिरोसँगै विभिन्न स्थानबाट आएको बाढीले नदीको जलचक्र प्रणाली नै खल्बलाइदिएको छ । यसका कारण जलचरको वासस्थान नास हुँदा उनीहरू लोप हुने अवस्थामा पुगेका वातावरण संरक्षणकर्मी ईश्वरी सिग्देलले बताए । उनका अनुसार नदीमा आउने बाढीले नदी धमिल्याएर आहाराको अभाव गराइ दिने मात्र होइन त्यसले जलचरको अनुकुलन अवस्थालाई पनि क्षति पु¥याइ दिने भएकाले त्यस ठाउँमा रहनसक्ने अवस्था नभएपछि जलचर तल–तल सर्दै जान्छन् ।

मानवीय अतिक्रमण र प्राकृतिक सम्पदाको दोहन पनि जलचर प्राणी नासिँदै जानुको अर्को कारण हो । म्याग्दीका ३ वटै जलाधार क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी बढेको छ । नदीमा डोजर र स्काभेटरजस्ता भारी साधनहरू प्रयोग गरेर जथाभावी नदीजन्य वस्तु निकाल्दा त्यसको असर जलचर प्राणीमा पनि परेको र उनीहरू नासिँदै गएका वातावरण संरक्षणकर्मीको भनाइ छ ।

त्यसैगरी बजार तथा ग्रामीण क्षेत्रको फोहोर विर्सजन गर्ने ठाउँ नदी नै बन्ने गरेका छन् । नदीमा फोहोर विर्सजन गर्दा रासायनिक तत्वको प्रभावले जलचर प्राणीको अस्तित्व जोखिममा परेको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्