Nic Ad Nic Ad
Nic Ad Nic Ad

मालीबाट मालिक !

आइतबार, माघ १५, २०७९

वालिङ– २०५३ सालमा २ माना आटो (मकैको पिठो) सहित ४ छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झरिन् सनसरी सार्की । पतिको उपचारमा भएभरको सम्पत्ति पनि सकियो र पतिको आयु पनि । बस्ने, खाने ठेगान छैन, तर गाउँमा बस्नुभन्दा बजारतिर झरे केही न केही काम पाइन्छ भन्ने आशासहित बजार झरिन् ।

बजार आउँदा बेलुकीको छाक पुग्ने आटो मात्रै साथमा थियो । छोराछोरी स–साना, कहाँ बस्ने के खाने चिन्तै चिन्ताका बीच वालिङ झरिसकेपछि कोठा खोजेर भाडामा बस्न थालिन् ।

दुःख परेका बेला काम दिने मान्छे पनि भगवान जस्तै लाग्यो । ‘नयाँ ठाउँमा काममा नपत्याइदिएको भए झन् के हालत हुन्थ्यो होला १ धन्न बालुवा बोक्ने, गिटी बोक्ने काममा पत्याइदिनुभयो । त्यही काम गर्न थालेँ’, उनले भनिन्, ‘२ वर्षजति ज्यालामा यस्तै यस्तै मजदुरी गरेँ र बालबच्चा पाल्दै आएँ ।’

खाने मुख धेरै, तर काम गर्ने आफू एक्लै भएकाले पनि सुरुको दैनिकी निकै जटिल भएको उनी सम्झन्छिन् । ज्याला मजदुरी गर्दै दैनिकी चलाउँदै आएकी सनसरी २०५५ सालतिर वालिङ नगरपालिकाको सरसफाइ कर्मचारीका रूपमा काम गर्न थालिन् । 

सरसफाइमा काम गर्दागर्दै नगरपालिका परिसरमा सौन्दर्यकरणमा ध्यान दिँदै फूलबारी निर्माण गरियो र यसको रेखदेख र फूलहरूको व्यवस्थापन गर्ने थप जिम्मेवारी उनै सनसरीलाई दिइयो ।

कतै बाटोमा हिँड्दा राम्रो फूल, नयाँ प्रजातिको फूल देख्नासाथ त्यसका बारेमा जिज्ञासु भई बुझ्थिन् । नगरपालिकामा मालीको जिम्मेवारी थपिएपछि भने झन् ऊर्जा मिल्यो र जिज्ञासा झनै बढ्दै गएको सम्झन्छिन् ।

‘बाटो हिँड्ने क्रममा कहीँकतै नयाँ तथा नौलो प्रजातिका फूल देखेँ भने त्यसको बिउ, बेर्ना वा हाँगा संकलन गर्थें’, उनले भनिन्, ‘सुरुका २ वर्ष त म नगरपालिका कार्यालयमा जाँदा एउटा न एउटा बिउ, बेर्ना, हाँगा नलिई जान्थिन् ।’

मालीका रूपमा काम गर्न थाएकी सनसरीलाई आफ्नो मात्रै बुझाइ र रहरले नभई अझै यसलाई राम्रो र व्यवस्थित गर्छु भन्ने हुटहुटी चल्यो । फलस्वरूप उनले तत्कालीन कार्यकारी अधिकृत सुरथ पोख्रेललाई फूलबारी व्यवस्थापनसम्बन्धी तालिमका लागि सिफारिस गरिदिन अनुरोध गरिन् र काठमाडौँमा १ हप्ते तालिमसमेत प्राप्त गरिन् ।

नर्सरी व्यवस्थापन, गोडमेल, कटानी छँटानी, फूलबारीको व्यवस्थापनसम्बन्धी तालिम लिइन् । त्यहाँ सिकेको सीपलाई वालिङ आएसँगै दैनिक जीवनमा प्रयोगमा ल्याइन् । 

‘पहिला आफ्नै सुरमा बिउ रोप्ने, बेर्ना लगाउने काम गर्थें’, उनले भनिन्, ‘तालिमपछि कुन फूलको बिउ कुन नर्सरी गर्ने, कुन याममा लगाउने, कुनको हाँगा, कुनको बिउ लगाउने भन्ने अहिले फूल हेरेरै थाहा हुने गरेको छ ।’

सरसफाइमा झन्डै १५ वर्षजति काम गरेकी सनसरीले ८÷९ वर्षदेखि सरसफाइसँगै मालीका रूपमा फूलबारीको स्याहारसुसार गर्छिन् ।

वालिङ नगरपालिकाको प्रशासकीय भवन परिसरमा प्रवेश गर्नासाथ झट्ट देखिने रंगीबिरंगी फूलबारीको सौन्दर्यकरणमा उनको विशेष लनशीलता र परिश्रम छ । 

बिहानको समयमा बिरुवा रोप्ने, सार्ने र दिउँसोको समयमा सिँचाइ गर्छिन् । नगरपालिकामा आफ्नो दैनिक जिम्मेवारी पूरा गरेसँगै बाँकी रहेको समयलाई उनले वालिङकै एक सहकारीले निर्माण गरेको नर्सरीमा लगाइन् ।

नगरपालिका कार्यालय, सहकारीको नर्सरी व्यवस्थापनबाट घरखर्च चलाएर बचत गरेको रकमबाट उनले वालिङ बजारमै २० लाख रुपैयाँमा ४ आना घडेरी खरिद गरिन् । अहिले उनको ३ कोठे पक्की घर छ ।

उनकै प्रेरणाबाट कान्छा छोराले अहिले आफ्नै बिरुवा नर्सरीमा काम गर्दै आएका छन् । करिब ४० प्रजातिका मौसमी तथा बेमौसमी फूलहरू उनको नर्सरीमा पाइन्छ । विभिन्न प्रजातिका मौसमी तथा बेमौसमी फूल, बिरुवा नर्सरी, गमला, कलमीका फूल, विवाह ब्रतबन्धलगायत कार्यका लागि मालाहरू उपलब्ध गराउँदै आएकी छिन् ।

वालिङमा हुने विवाह, ब्रतबन्ध तथा अन्य कार्यमा आवश्यक पर्ने फूल काठमाडौँ, पोखरा, बुटवललगायत ठाउँबाट आउने गरेको उनले बताइन् ।

‘फूलसम्बन्धी सबै सेवा, बिरुवा आफ्नै ठाउँमा पाउनुभयो भने पक्कै पनि ग्राहक अन्यत्र जानुहुन्न,’ उनले भनिन्, ‘त्यसका लागि अझै मौसमी तथा बेमौसमी र धेरै प्रजातिका फूलहरू थप गर्ने तयारीमा छु ।’

वालिङ आसपासमा फूलको माग राम्रो हुने गरेको छ । अहिले पनि आफ्नो नर्सरीमा फूलका बारेमा जान्न बुझ्न धेरै नै आउने गरेको उनी बताउँछिन् ।

चार्डपर्वको समयमा सयपत्री, मखमलीलगायत फूल तथा मालाको माग बढी हुने गरेको छ । यस्ता अवसरमा सनसरीले फूल तथा बिरुवा बिक्रीबाट राम्रो आम्दानी लिँदै आएकी छिन् ।

दृढ संकल्प र मनमा इच्छा शक्ति भए बिदेसिनुपर्छ भन्ने नभएको उनको कर्मबाट पुष्टि हुन्छ । 

उनले भनिन्, ‘कुनै बेला काम खोज्दै हिँडेँ । अहिले आफ्नै नर्सरी स्थापना गरी अरूलाई पनि काम दिन सक्ने अवस्थातिर लम्किँदै छु ।’

आफूले गरेको कर्मबाट सन्तुष्ट रहेको उनी बताउँछिन् । जुन काम आत्मैदेखि सन्तुष्ट भएर गरिन्छ त्यसले सफलतामा पु¥याउने उनको विश्वास छ ।

नगरपालिका परिसरको सौन्दर्यकरण र हरियालीमा जोड दिँदै फलफूल तथा फूलका बिरुवा रोप्न थालिएको वालिङ नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत सुरथ पोख्रेलले बताए ।

स्थानीय स्तरमा पाइने विभिन्न प्रजातिका फल लाग्ने बिरुवा तथा विभिन्न प्रजातिका फूल खोजी गरी लगाउन सुरु गरेसँगै कार्यालय परिसरको सौन्दर्य नै छुट्टै खालको देखिन थालेको उनी अहिले पनि सम्झन्छन् ।

‘काठमाडौँ, पोखरा तथा बुटवल गएका बेला त्यहाँबाट पनि विभिन्न प्रजातिका फूलका बिरुवा ल्याइएको थियो’, उनले भने ।

तालिम लिइसकेपछि त्यसलाई व्यवहारमा उतार्ने र निरन्तरता दिएमात्रै त्यसको महत्व बढेर जान्छ । सुरुदेखि नै कामप्रति लगनशील र परिश्रमी सनसरीले फोहोरमैला व्यवस्थापनसहित मालीका रूपमा जिम्मेवारीपूर्वक कार्य गर्दै आएकी हुन् ।

‘स्मार्ट सिटी’को अवधारणा अनुरूप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाको परिसरमा पुग्ने जोकोही पनि रंगीबिरंगी फूलको सौन्दर्यमा आनन्दित हुन्छन् । मौसमअनुसारका विभिन्न प्रजातिका फूलहरू बाह्रैमास फूलिरहेका हुन्छन् ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्