नेभिगेशन
समाज विविध

मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइँदै

महोत्तरी –महोत्तरीको प्रसिद्ध धार्मिकस्थल पञ्चधुरामाई मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । बर्दिबास नगरपालिका–४ स्थित मन्दिरको क्षेत्राधिकार भित्रको पोखरीको स्तरोन्नती तथा मन्दिर परिसरको सौन्दर्यकरण कार्यको शिलान्यास गरिएको छ ।
आइतबार संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति बर्दिवासले आयोजना गरेको कार्यक्रममा बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले सौन्दर्यकरण कार्यको शिलान्यास गरेका छन् । 
मेयर क्षेत्रीले पर्यटन प्रवद्र्धनमार्फत बर्दिबास नगरपालिकालाई देशभर र छिमेकी देशमा पनि चिनाउने प्रयास थालेको बताए । 
स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पञ्चधुरामाई मन्दिरलाई सौन्दर्यकरण गरेर थप आकर्षित बनाउन लागिएको संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति बर्दिवासका अध्यक्ष हिरालाल गौतमले जानकारी दिए । उनले मन्दिरको परिसरमा रहेको पोखरीलाई व्यवस्थित गर्नेदेखि लिएर पार्क निर्माण गर्नेसम्मको योजना रहेको बताए । 
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउन मन्दिरको ८ कठ्ठा क्षेत्रफलमा मिनी पार्क निर्माण गरिने पनि अध्यक्ष गौतमले बताए । ‘पहिलो चरणमा बर्दिबास नगरपालिकाको ९० लाख रुपैयाँको बजेटबाट काम गरिने योजना छ । पोखरी निर्माणको लागि ४० लाख र पार्क निर्माणमा ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ,’ अध्यक्ष गौतमले भने ‘सौन्दर्यकरणको थप कामको लागि प्रदेश सरकारसँग पहल र समन्वय गरिरहेका छौं ।’
यसअघि समितिले शनिबार बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिर र वडा नम्बर ४ स्थित पञ्चधुरामाई मन्दिर परिसरमा सरसफाई गरी डष्टविन वितरण गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध