Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनप्रतिनिधि र कर्माचारीको विवादका कारण हरिपुर्वा नगरपालिकाको कामकाज ठप्प

आइतबार, माघ १५, २०७९

सर्लाही– कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ । बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान्य विषयमा विवाद भएको र त्यस लगत्तैदेखि अनिश्चितकालका लागि नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो ।

केही वडाध्यक्षहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार न्यौपानेलाई गालीगलौजसहित दुव्र्यवहार गरेको भन्दै कर्मचारीले नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले बताए। उनका अनुसार केही वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेबीच सामान्य विवाद भएको थियो । 

नगरकार्यपालिकाले भर्ना कार्यविधि तथा छनोट समिति बनाएर चालक, कार्यालय सहयोगी र सरसफाइकर्मी गरी करिब ३५ जनाको लागि आवेदन खुलाएको थियो । करिब तीन सय जनाले आवेदन दिएका र त्यसबाट खुला प्रतिस्पर्धाबाट करिब ३५ जना छनोट गरिएको थियो । त्यस क्रममा हरिपुर्वा नगरपालिका–३ का वडाध्यक्ष प्रमोद यादवले आफ्नो मान्छे नपरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग रुष्ट हुन् । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नमानेपछि विवाद सिर्जना भएको र जसका कारण नगरपालिकाका सम्पूर्ण कर्मचारीले नगरपालिकामा ताला लगाएर कामकाज अनिश्चितकालका लागि ठप्प पारेका छन् ।

कर्मचारीले दोषी वडाध्यक्षमाथि कारबाहीको माग गर्दै अनिश्चितकालका लागि नगरपालिकाको सबै कामकाज ठप्प पारेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए। नगरपालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प भएपछि सेवाग्राही मारमा परेको स्थानीय वीरेन्द्रकुमार अधिकारीले बताए । उनका अनुसार हरिपुर्वा नगरपालिकामा यसअघिका जनप्रतिनिधको पाँचवर्षे कार्यकाल विवादै–विवादमा बिताएका थिए ।

नयाँ जनप्रतिनिधि आएपछि पनि उस्तै प्रकारको कलह देखिएको अर्का स्थानीय राधेश्याम रायले बताए। उनका अनुसार बजेट बाँडफाँटमा भागबण्डा नमिल्दा असारमै पास गर्नुपर्ने बजेट नगरपालिकाले एक महिनाअघि मङ्सिर अन्तिममा पारित गरिएको थियो ।

जनप्रतिनिधिबीच राजनीतिक सहमति हुन नसक्दा कर्मचारी चेपुवामा परेका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए। नगरप्रमुख साह अल्पमतमा रहँदा अहिलेका जनप्रतिनिधिको कार्यकाल पनि यसरी विवाद गरेर बित्ने सङ्केत देखिएको भन्दै हरिपुर्वाका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

जनप्रतिनिधि मिल्न नसक्दा हरिपुर्वामा विकासले गति लिन सकेको छैन । जनप्रतिनिधिबीचको विवादका कारण कर्मचारीले यसरी बर्सेनि दुव्र्यवहार सहिरहनुपरेको अर्का कर्माचारी सुनिलकुमार रायले बताए। यता प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र नगरप्रमुख साह मिलेर आर्थिक चलखेल गरी आफ्ना मान्छेमात्रै छनोट गराएका कारण आफूहरूले त्यसको विरोध गरे ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार