शीतल निवासमा आँखा लगाइरहेका ११ नेता, कसको सम्भावना कति ?
काठमाडाैँ- आगामी फागुन २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पूरा हुँदै छ ।
कानुनको व्यवस्थाअनुसार राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा १ महिनाअघि नै नयाँ राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन–२०७४ को दफा (४) मा भनिएको छ, ‘आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा १ महिनाअघि वा अन्य कुनै कारणले सो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले १ महिनाभित्र निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने छ ।’
कानुनमा व्यवस्था भएअनुसार २८ माघभित्रै नयाँ राष्ट्रपतिको चुनाव भइसक्नुपर्ने हो । राष्ट्रपति निर्वाचनको अन्तिम मिति आउन १३ दिन मात्रै बाँकी छ । तर, अझै निर्वाचनको मिति तोकिएको छैन ।
राष्ट्रपतिको निर्वाचन हुनुपर्ने मिति र कार्यकाल सकिने मिति जति नजिकिँदै छ, त्यति नै राष्ट्र प्रमुखका रूपमा शीतल निवास प्रवेश गर्न चाहनेहरूले आफ्नो दाबी बलियो बनाउँदै लगेका छन् ।
अनिर्णीत राजनीतिक दल
पुस १० मा सरकार गठनको सहमति गर्दा नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रपति एमालेको भागमा पर्ने गरी सहमति गरेका थिए । तर, पछिल्ला दिनमा माओवादी केन्द्र उक्त ‘बालकोट सहमति’बाट विमुख हुने प्रयासमा छ ।
पुस २६ मा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई संसद्मा विश्वासको मत दिएपछि उनी राष्ट्रपति चयनमा साझा सहमति बनाउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने एमालेका उम्मेदवारमै साझा सहमति हुनपर्ने भनिरहेका छन् ।
नेपाली कांग्रेसका नेताहरू पनि राष्ट्रपति चयनमा साझा सहमति चयन गर्नुपर्ने भनिरहेका छन् ।
प्रमुख र शक्तिशाली संवैधानिक पदहरू नेकपा एमालेमा केन्द्रित हुन सक्ने सम्भावनाबाट बिच्किएका प्रधानमन्त्री प्रचण्ड पनि शीतल निवासमा एमालेको चाहेअनुसार गर्ने पात्रको प्रवेश नहोस् भन्ने चाहन्छन् ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट पनि प्रचण्डले राष्ट्रपति निर्वाचनमा दलहरूबीच सहमति खोज्न प्रयास गर्ने निर्णय गराएका छन् ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना प्रचण्डको भन्दा ठिक विपरीत छ । उनी शीतल निवासमा आवश्यकताभन्दा बढी सहयोग गर्ने व्यक्तिलाई विराजमान गराउन चाहन्छन् ।
ओली प्रधानमन्त्रीबाट हटेपछि पनि शीतल निवासबाट राजनीतिक शक्ति अभ्यास गरेको आरोप ओली र राष्ट्रपति भण्डारी दुवैलाई लाग्ने गरेको छ ।
‘हङ पार्लियामेन्ट’ रहेको अहिलेको अवस्थामा भविष्यको राजनीतिक गोरेटो स्पष्ट छैन । त्यसो हुँदा सबै पदमा आफू अनुकूलका व्यक्ति पुर्याउन सके जस्तोसुकै राजनीतिक परिस्थितिमा पनि सुरक्षित रहन सकिने बुझाइमा दलका नेताहरू छन् ।
त्यसबाहेक, अन्तर्राष्ट्रिय शक्ति केन्द्रले पनि नेपालको राष्ट्रपति चुनावमा गहिरो चासो राखिरहेको पाइएको छ ।
को पुग्ला शीतल निवास ?
एमाले र माओवादीबीच भएको भनिएको पूर्वसहमति कार्यान्वयन हुँदा नेकपा एमालेले उम्मेदवार बनाएको व्यक्ति राष्ट्र प्रमुखका रूपमा शीतल निवास प्रवेश गर्नेछ ।
राष्ट्रपति चुनावमा माओवादीले एमालेसँग सहकार्य गर्छ वा अर्को राजनीतिक बाटो अपनाउँछ, स्पष्ट भइसकेको छैन ।
राष्ट्रपति चुनावमा एमाले र माओवादी सहकार्य नभएको अवस्थामा पनि एमालेले चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवार तय गर्ने निश्चित छ ।
त्यसो हुँदा एमालेबाट राष्ट्रपतिको उम्मेदवार को हुने भन्ने एमाले वृत्तमै ठुलो चासोको विषय बनेको छ ।
अहिले एमालेमा ६ जनाको नाम राष्ट्रपतिको उम्मेदवारका रूपमा विशेष चर्चामा छ ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम भावी राष्ट्रपतिको उम्मेदवारका रूपमा एमाले वृत्तमा चर्चामा छ ।
काठमाडौँ–५ बाट चुनाव हारेका पोखरेल अध्यक्ष ओली र राष्ट्रपति विद्या भण्डारीसँग निकट मानिन्छन् । पार्टीमा सधैँ शक्ति केन्द्रसँग नजिक रहने स्वभावका पोखरेल एमालेका पुराना नेता हुन् ।
१०औँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष बनाइएका पोखेरल पार्टी राजनीतिमा सम्भावना नदेखेपछि राष्ट्रपति भएर राजनीतिबाट बिदा लिने मुडमा छन् ।
उनले यस्तो आकांक्षा मधुर रूपमा पार्टी नेतृत्वसमक्ष पुर्याइसकेको उनी निकट नेताहरू बताउँछन् ।
एमालेमा पहिलो वरीयताका उपाध्यक्ष युवराज ज्ञवालीलाई पनि राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चा गरिएको छ ।
उनले युवाहरूलाई ठाउँ दिनुपर्ने भन्दै गत चुनावमा उम्मेदवार हुन इन्कार गरेका थिए । पार्टी विभाजनअघि ज्ञवाली एमालेमा माधव नेपाल खेमामा थिए । तर, पार्टी विभाजनमा साथ नदिने भन्दै एमालेमा क्रियाशील रहेका ज्ञवाली एमालेमा १० बुँदे पक्षधरमा १० भाइमध्येमा चिनिन्छन् ।
पछिल्लो समय उनी पार्टीमा ओलीको विश्वास जित्ने प्रयासमा क्रियाशील छन् । उनलाई ओलीले चितवन महाधिवेशनबाट उपाध्यक्ष बनाएका थिए । हुन त नवौँ महाधिवेशनबाट पनि ज्ञवाली उपाध्यक्ष निर्वाचित भएका थिए ।
एमालेका अर्का उपाध्यक्ष सुवास नेम्बाङको नाम सुरुदेखि नै राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चामा छ । संविधानसभाका अध्यक्षसमेत भएका नेम्बाङ कानुन पृष्ठभूमिका हुन् ।
उनी एमालेमा अध्यक्ष ओलीका विश्वासपात्र एवं निकट सहयोगीका रूपमा चिनिन्छन् । इलाम–२ बाट चुनाव जितेका नेम्बाङ अनुभवी राजनीतिज्ञ हुन् ।
एमालेका अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम पनि राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चामा छ ।
गत निर्वाचनमा युवालाई स्थान दिनुपर्ने भनेर उम्मेदवार बन्न इन्कार गरेकी शाक्यले पाएको पछिल्लो लाभको पद बाग्मती प्रदेशको मुख्यमन्त्री हो । नेपालको पहिलो महिला मुख्यमन्त्रीको रेकर्ड पनि उनको नाममा छ ।
२०७८ को भदौमा उनी मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एमाले विभाजन हुने अवस्थामा उनलाई मुख्यमन्त्री बनाइएको थियो ।
त्यसअघि एमालेमा माधव नेपाल खेमामा रहेकी शाक्य पार्टी विभाजनमा साथ नदिने भनेर एमालेमै क्रियाशील भएकी थिइन् ।
एमालेमा राष्ट्रपतिको उम्मेदवार हुनका लागि अध्यक्ष ओली र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि रुचाएको व्यक्ति हुनुपर्छ । तर, शाक्य र भण्डारीको टकरावपूर्ण सम्बन्ध छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे पनि शाक्यले प्रश्न उठाउने गरेकी छिन् ।
२०७४ को चुनावमा उनलाई बाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा प्रचार गर्दै प्रदेशसभा उम्मेदवार बनाइएको थियो । तर, पछि उनलाई मुख्यमन्त्री हुन दिइएन ।
त्यसमा अध्यक्ष ओली र राष्ट्रपति भण्डारीको मुख्य भूमिका रहेको भन्दै शाक्यले सार्वजनिक आलोचना गरेकी थिइन् ।
त्यसबेला ओलीका विश्वासपात्र डोरमणि पौडेल मुख्यमन्त्री भएका थिए । २०७८ भदौ २ मा उनै पौडेललाई विस्थापन गरेर शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।
शाक्यलाई पनि राष्ट्रपतिको दाबेदारका रूपमा हेरिए पनि ओली र भण्डारीसँगको सम्बन्ध त्यति सुमधुर नभएका कारण उम्मेदवार नबनाइने सम्भावना पनि उत्तिकै रहेको एमाले नेताहरू स्वीकार्छन् ।
पछिल्लो समय एमालेकी स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाङ्फेको नाम एमालेभित्र राष्ट्रपतिको उम्मेदवारका रूपमा व्यापक चर्चामा छ ।
प्रतिनिधिसभाको उपसभामुख र कानुनमन्त्री भइसकेकी तुम्बाहाङ्फे एमालेमा विद्वत र जुझारू नेतृका रूपमा परिचित छिन् ।
पार्टीमा संसदीय विभागको प्रमुखको जिम्मेवारीमा रहेकी तुम्बाहाङ्फे राष्ट्रपति विद्यादेवी भण्डारीकी निकटस्थ हुन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा पदमुक्त भएपछि उनले सभामुख दाबी गरेकी थिइन् । त्यसबेला पार्टी (नेपाल कम्युनिस्ट पार्टी)ले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनले उपसभामुखबाट राजीनामा गरेकी थिइन् । त्यसलगत्तै उनलाई कानुनमन्त्री बनाइएको थियो ।
जनजाति पृष्ठभूमि, विद्यावारिधि गरेकी नेतृ र पार्टीको उच्च नेतृत्व तहसँग पनि राम्रो सम्बन्ध कायम राखेकी नेतृ भएका कारण एमालेभित्र तुम्बाहाङ्फेको नाम राष्ट्रपतिको बलियो उम्मेदवारका रूपमा चर्चामा छ ।
राष्ट्रपति भण्डारीले पनि आफ्नो उत्तराधिकारीमा रुचाएको व्यक्ति खोज्ने हुँदा तुम्बाहाङ्फेलाई उम्मेदवार बनाउने बलियो सम्भावना रहेको एमालेका नेताहरू स्वीकार्छन् ।
बाग्मती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको नाम पनि एमालेमा राष्ट्रपति उम्मेदवारका रूपमा चर्चामा छ । उनी अध्यक्ष ओली र राष्ट्रपति भण्डारी दुवैका विश्वासपात्र हुन् ।
कांग्रेसमा २ आकाङ्क्षी
संसद्को सबैभन्दा ठुलो दल भएर पनि ‘लुजर’का रूपमा रहेको कांग्रेसले राष्ट्रपति आफ्नो उम्मेदवारले जित्ने दाबी गरिहेको छ ।
त्यसैका लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा सहयोगको अपेक्षा गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेका छन् ।
अघिल्लो साता बसेको पदाधिकारी बैठकले देउवाले २ नेतालाई राष्ट्रपतिको दाबेदारका रूपमा प्रस्तुत गरेका हुन् ।
पौडेल भने आफैँ पनि राष्ट्रपतिको उम्मेदवार बन्न सक्रियातापूर्वक खटिएका छन् ।
उनी तत्कालीन चुनावी गठबन्धनकै सरकार बनाएर माओवादी केन्द्रलाई प्रधानमन्त्री दिनुपर्ने पक्षमा थिए ।
त्यसो हुँदा आफ्ना लागि राष्ट्रपति पद निश्चित हुने पौडेलको बुझाइ थियो । त्यसका लागि उनले मिहिनेत गरेका थिए ।
तर, कांग्रेसमा देउवा पक्षले माओवादीलाई प्रधानमन्त्री दिन नसकिने भनेपछि प्रचण्ड एमालेसँग मिल्न गएका थिए । पौडेल अहिले पनि राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गरिरहेका छन् ।
झापा–३ बाट चुनाव हारेका कृष्णप्रसाद सिटौलाले भने सार्वजनिक रूपमा राष्ट्रपति उम्मेदवारको दाबी गरेका छैनन् । सभापति देउवाले भने पार्टीभित्र उनको नाम छलफलमा ल्याएका छन् ।
अन्य ३ जनाको चर्चा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम पनि राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चामा थियो ।
नेकपा एमाले र एकीकृत समाजवादी मिल्ने र नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा केही समयअघि व्यापक चर्चा थियो । पार्टी विभाजन गरेर गएका माधव नेपाललाई राष्ट्रपति बनाएर पुरस्कृत गर्न नहुने भन्दै एमालेभित्र विरोध भएको थियो ।
एकीकृत समाजवादी अहिले सरकारबाहिर छ । एमालेसँग उसको सम्बन्ध सुधार भएको पनि छैन ।
त्यसो हुँदा पछिल्ला दिनमा राष्ट्रपतिको उम्मेदवारका रूपमा नेपालको नाम चर्चामा आउन छाडेको छ ।
उक्त पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा देखाएका थिए । कांग्रेस नेतृत्वको तत्कालीन चुनावी गठबन्धन कायम रहँदा राष्ट्रपतिमा खनालको दाबेदारी प्रमुख रहन्थ्यो ।
चुनावअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि खनाललाई राष्ट्रपति बनाउन सहयोग गर्ने आश्वासन दिएका थिए ।
त्यससँगै उनलाई इलाम–१ मा चुनाव नलड्न पनि भनिएको थियो । तर, खनालले अन्तिम पटक चुनाव लड्ने भन्दै उम्मेदवारी दिएका थिए । यद्यपि उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भए ।
पछिल्ला केही दिनयता नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको नाम पनि राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चामा आएको छ ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको एकीकरणको प्रक्रिया सुरु भएको छ । पार्टी एकता हुने भएपछि भट्टराई राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने भन्दै उनको नाम चर्चामा ल्याइएको छ ।
शनिबार गोरखा पुगेका भट्टराईले आफ्ना शुभचिन्तकहरूले राष्ट्रपतिको दाबेदारका रूपमा आफ्नो नाम चर्चामा ल्याएको हुन सक्ने बताएका छन् ।
तर, राष्ट्रपति निर्वाचनमा राजनीतिक दलहरूबीच कस्तो राजनीतिक समीकरण बन्छ भन्ने यकिन नभई को–को राष्ट्रपतिको उम्मेदवार बन्छन् र जितेर शीतल निवास जान्छन्, अहिल्यै अनुमान गर्न सकिहालिने अवस्था छैन ।
राष्ट्रपति निर्वाचनबारे राजनीतिक दलहरू स्पष्ट नहुँदा भावी राष्ट्रपतिको चित्र अझै धमिलो छ ।