Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिमपातले सेताम्य  राराताल क्षेत्र

सोमबार, माघ १६, २०७९

मुगु– गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । 

आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ । त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लागेको छ ।  चिसोको प्रवाह नगरी रारा जाने क्रम जारी छ । रारा वरपर दुई फिटसम्म हिउँ जमेको छ । यस वरिपरिका रुखर बिरुवाहरु हिउँले फुलेका छन् । 

रारा क्षेत्रवरपर जताततै सेताम्य देखिन्छ । भारी हिमपात भएपछि तालको छेउमा सेतो सिरक राखेजस्तै देखिन्छ । राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटकसम्म आफ्नो रुप बदल्दा सेतो हिउँले यसमा झनै आकर्षण थपेको छ । 

जाडो समयमा रारा हेर्न आएका आन्तरिक पर्यटक राम शाहले राराको यस सिजनको दृश्य भाग्यमानीलाई मात्र हेर्न अवसर जुर्ने प्रतिक्रिया दिए। मुर्मा टपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने पर्यटकको भनाइ छ । राराको क्षेत्रफल ५ किलोमिटर लम्बाइ, करिब ३ किलोमिटर मिटर चौडाइ र १६७ मिटर गहिराइ छ । 

रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतो र ३ सय प्रजातिका चरा पाइन्छन् । कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि  रारा क्षेत्र महत्वपूर्ण मानिँदै आएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०७:२०
प्रतिक्रिया दिनुहोस्