Nic Ad Nic Ad
Nic Ad Nic Ad

इरान र साउदी अरेबियाले छिट्टै वार्ता गर्ने

सोमबार, माघ १६, २०७९

इरान र साउदी अरेबियाले आफ्नो द्विपक्षीय सम्बन्ध सुधारका लागि छिट्टै वार्ता गर्ने भएका छन् ।

इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दोल्लाहिनले २ देशबीचमा आगामी केही समयमा नै वार्ताको तयारी भएको जानकारी दिएको इरानी समाचार समिति इर्नाले जनाएको छ । 

उनले इरानको राजधानी तेहरानमा आइतबार आफ्ना कतारका समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा सो कुराको जानकारी दिएको इर्ना समाचार समितिको समाचारमा जनाइएको छ ।

२ देशबीच केही असहज हुन पुगेको सम्बन्धलाई सहज बनाउने गरी सो वार्ता हुन लागेको बताइएको छ । हाल इरानको भ्रमणमा रहेका कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल्लारहमान अल थानी र इरानका विदेशमन्त्रीबीचमा आइतबार तेहरानमा द्विपक्षीय वार्ता भएको थियो ।

सो वार्तापछि आइतबार नै राजधानी तेहरानमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सो क्रममा इरानका विदेशमन्त्री अब्दोल्लाहिनले इरानले आफ्ना छिमेकी देशहरू संयुक्त अरब इमिरेट्स र कुवेतसँगको सम्बन्धमा सुधार ल्याएको र ती देशमा इरानले राजदूत पनि पठाइसकेको भन्दै अब साउदी अरबसँग पनि आपसी वार्ता हुने र सम्बन्धमा सहजीकरण आउने जानकारी दिएका थिए । 

सन् २०१६ मा इरानमा रहेको साउदी अरेबियाको कूटनीतिक नियोगमा आक्रमण भएपछि साउदी अरेबियाले इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्