दूतावास नभएका देशमा घुम्ती टोली खटाउने सरकारको तयारी
काठमाडौँ –नेपाली दूतावास नभएका विभिन्न देशमा घुम्ती टोली खटाउने सरकारले तयारी गरेको छ । परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले यसबारे निर्णय भइसकेको जानकारी दिँदै छिट्टै कार्यान्वयनमा गइने बताइन् । उनका अनुसार पहिलो प्राथमिकता पोर्चुगललाई दिइएको छ भने त्यसपछि क्रमशः अन्य देशमा पनि यो कार्यलाई अघि बढाइने छ ।
गैरआवासीय नेपाली संघको युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरूको पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री पौडेलले आगामी १ महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने गरी काम भएको बताइन् ।
दूतावास तथा कन्सुलर सेवा नभएका देशहरूमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरूले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने उनको भनाइ छ ।
यसअघि गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौडेललाई आग्रह गरेको थियो । युरोपेली देश माल्टामा दूताबास नहुँदा समस्या परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने बताइन् ।
हाल बेलायतस्थित दूताबासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो सहभागीले गरेका थिए । यस्तै साइप्रसमा घरेलु कामदारको रूपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई थियो ।
कार्यक्रममा पोर्चुगलका महासचिव राजकुमार थापाले त्यहाँ नेपालीको अवस्था र समस्याको समाधान गर्न आग्रह गरेका थिए । यस्तै, एनआरएनए साइप्रसकी राधा पोखरेलले घरेलु कामदारका रुपमा गैरकानूती तवरले बसीरहेका नेपालीको संख्या बढ्दै गएको भन्दै जीटुजीमार्फत कामदार पठाउने व्यवस्था गर्न आग्रह गरेकी थिइन् ।