अवैध आयात रोक्न पोल्ट्री व्यवसायीको माग
दमक– झापाका पोल्ट्री व्यवसायीले भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् । आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले यहाँको पोल्ट्री व्यवसाय धरायसी बनेको भन्दै सीमाबाट हुँदै आएको अवैध कुखुरा आयात रोक्न माग अघि सारेका हुन् ।
भारतबाट सस्तो मूल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले यहाँका पोल्ट्री व्यवसाय सङ्कटमा परेकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले बताए। आफूहरुले उठाएका व्यावसायिक मागका बारेमा प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट गरी ज्ञापन पत्रसमेत बुझाइएको उनले बताए।
कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दिका कारण विकराल अवस्था आएको पनि पोल्ट्री व्यवसायीको भनाइ छ । भारतबाट आउने अण्डा, कुखुरा र मासुको आयात रोक्न सक्दा पनि यसबाट यहाँको व्यवसायीलाई राहत मिल्ने आफूहरूले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएको निरौलाको भनाइ छ ।
उनका अनुसार जिल्लामा दैनिक करिब ४० हजार केजीसम्म कुखुराको खपत हँुदैआएको छ । आर्थिक मन्दिका कारणले ४० प्रतिशत माग घटेको र मूल्यसमेत घटेको उनले बताए । तीन वर्ष अघिसम्म जिल्लामा करिब आठ हजार जना किसान पोल्ट्री व्यवसायमा आवद्ध भए पनि अहिले आएर यो सङ्ख्या चार हजारका हाराहारीमा भएको उनको भनाइ छ ।
यस व्यवसायमा दिनानुदिन किसान पलानयन हुने क्रममा रहेको अध्यक्ष निरौला बताउँछन। झापामा कुखुराको मासु र अण्डामा आत्मनिर्भर भए पनि अवैध रुपमा आयात हुने अस्वस्थ्यकर मासु तथा अण्डा लगायतका उपभोग्य बस्तुको प्रभावकारी नियन्त्रण नहुँदा आफूहरुले समस्या भोग्नु परेको दमक १० का पोल्ट्री व्यवसायी नवराज न्यौपानेले बताए। जिल्लाको दमक, विर्तामोड, भद्रपुर, कन्काई नगरपालिकामा ठूलो परिणममा पोल्ट्री व्यवसाय हुँदैआएका छन् ।