नेभिगेशन
समाचार

गृहमन्त्रीको टुंगो लगाउन माओवादीले दियो अध्यक्ष प्रचण्डलाई जिम्मा

काठमाडौँ –सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री कसलाई बनाउने भन्ने विषयको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

सोमबार पार्टी पदाधिकारीको बैठकले गृहमन्त्रीको विषयमा टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको हो ।

पदाधिकारी बैठकमा अधिकांसले गृहमन्त्री आफ्नै पार्टीका हुनुपर्नेमा बताएका थिए ।

उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार प्रधानमन्त्री प्रचण्डले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टी भित्र प्रवेश नै नगराइएको हो ।  उनले भने, ‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृहमन्त्री को हुन्छ, को हुन्न? भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन । स्थायी कमिटीमा त्यो विषयमा पर्सी छलफल होला ।’

सर्वोच्च अदालतले आदेश दिएपछि गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफनो पद गुमाएका थिए । सोही पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले आवश्यक निर्णय गरेका छैन भने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै सो मन्त्रालयमा दाबी नछाडने जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार