Nic Ad Nic Ad
Nic Ad Nic Ad

भानु नगरपालिका्द्वारा कैदीबन्दीलाई खाट सहयोग

मंगलबार, माघ १७, २०७९

दमौली – तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो ।

नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान ‘डबल बेड’ साइजको खाट हस्तान्तरण गरेका हुन् । उनले कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई ती खाट हस्तान्तरण गर्दै नगरपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत १ लाख बराबरको खाट सहयोग गरेको बताए । ‘कैदीबन्दीको सहजताका लागि विभिन्न पालिकाले सहयोग गरिरहेको थियो, कारागारका तर्फबाट हामीलाई पनि अनुरोध भएबमोजिम सहयोग गरेका हौँ,’ उनले भने ।  

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले कारागारलाई सुधारगृहको रूपमा विकास गर्ने योजना रहेको बताए । कारागारलाई यसअघि व्यास नगरपालिकाको तर्फबाट ४०, म्याग्दे गाउँपालिकाको तर्फबाट ११, बन्दीपुर गाउँपालिकाको तर्फबाट ५, क्रिष्टिना गुरुङको तर्फबाट ६ थान खाट सहयोग भइसकेको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकाले ५० हजार सहयोग गरेको थियो । देवघाट र घिरिङ गाउँपालिकालाई पनि सहयोगका लागि अनुरोध गरिएको निमित्त कारागार प्रमुख अधिकारीले बताए। 

कारागार तनहुँका कैदीबन्दीका लागि नयाँ भवन निर्माण भएको छ । यसअघि पुरानो भवन हुँदा क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण भुइँमा सुत्नुपर्ने बाध्यता थियो । १३५ जना क्षमताको कारागारमा हाल २९५ कैदीबन्दी छन् । (ए) ब्लकमा १ सय २६, (बी) ब्लकमा १५० र (सी) ब्लकमा १९ जना कैदीबन्दी छन् । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०८:३४
प्रतिक्रिया दिनुहोस्