Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा नेता पाण्डे भन्छन्– गृह छाड्दैनौँ, मन्त्री को बन्ने भन्ने बेग्लै कुरा हो

मंगलबार, माघ १७, २०७९

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाण्डेले आफ्नो पार्टीले गृह मन्त्रालय नछाड्ने स्पष्ट पारेका छन् ।

सत्ता गठबन्धनको भागबन्डामा आफ्नो पार्टीको भागमा गृह मन्त्रालय परेको हुँदा छाड्न नसकिने उनको भनाइ छ ।

पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा गृह मन्त्रालय पाउने आफ्नो अधिकार भएको दाबी गरेका छन् । र, त्यो अधिकार (गृह मन्त्रालय रास्वपाले पाउने) फिर्ता लिन आफूहरू जुट्नुपर्ने उनको भनाइ छ ।

‘गृह मन्त्रालय रास्वपालाई फिर्ता आउनुपर्छ ? पक्का ! यो अधिकार फिर्ता लिन हामी जुट्नैपर्छ,’ पाण्डेले लेखेका छन् ।

तर, उनले गृह मन्त्री कसलाई बनाउने भन्ने विषयमा भने फरक धारणा सार्वजनिक गरेका छन् । उनले रास्वपाको तर्फबाट सबैभन्दा सक्षम, विवादरहित अनि पार्टी र देशको गौरव बढाउने व्यक्तिलाई गृह मन्त्री बनाउनुपर्ने आशय व्यक्त गरेका छन् ।

‘अहिलेको परिस्थितिमा रास्वपाको टिमबाट सबैभन्दा सक्षम, विवादरहित, अनि  पार्टी र देशको गौरव बढाउने गृह मन्त्री को हुन सक्ला ? यो छुट्टै प्रश्न हो,’ पाण्डेले लेखेका छन् ।

रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेको नागरिकता विवादमा सर्वाेच्च अदालतले उनको नागरिकता कानुनअनुसार कायम नरहेको आदेश गरेको थियो ।

सर्वाेच्चको सोही आदेशअनुसार लामिछाने गृहमन्त्री, सांसद र उनको पार्टीको सभापति पदबाट पदमुक्त भइसकेका छन् ।

उनले फेरि प्रक्रिया पूरा गरेर नागरिकता पुनर्प्राप्ति गरेपछि पार्टी सभापति बनिसकेका छन् भने गृह मन्त्री कसलाई बनाउने भन्ने विवाद कायमै छ । सोही विवादका कारण पाण्डेको यस्तो धारणा आएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्