नेभिगेशन
समाज विविध

भ्रष्टाचार सूचकांकमा नेपाल : ७ अंक सुधारिँदै ११०औँ स्थानमा

डेनमार्क सबैभन्दा कम र सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने देश

काठमाडौँ– भ्रष्टाचार हुने देशमा नेपाल ११०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) रिपोर्टमा नेपाल ११० औं स्थानमा रहेको जनाइएको छ ।

रिपोर्ट अनुसार सन् २०२२ मा नेपालले १०० मा ३४ अंकमात्रै पाएर भ्रष्टाचार हुने देशमा ११०औँ स्थानमा परेको छ ।

सिपिआई २०२१ को रिपोर्टअनुसार नेपालले अंक ३३ पाएर ११७औँ स्थानमा रहेकामा यो पटक केही सुधार भएको हो ।

तर पनि नेपाल भ्रष्टाचार व्याप्त देशहरूको श्रेणीमै रहेको ट्रान्सपरेन्सीद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यस वर्ष सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने देशका रूपमा सूचीकृत भएका छन् ।

यस सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने देशका रूपमा मानिन्छ ।

२०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२५औं), माल्दिभ्सले ४० अंक (८५ औँ), भारतले ४० अंक (८५ औं), श्रीलंकाले ३६ अंक (१०१ औं), नेपालले ३४ अंक (११० औं), पाकिस्तानले २७ अंक (१४० औं), बङ्गलादेशले २५ अंक (१४७ औं) र अफगानिस्तानले २४ अंक (१५० औं) प्राप्त गरेका छन् । छिमेकी चीनले ४५ अंक (६५ औं) प्राप्त गरेको छ ।

सन् २०२२ मा विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई रिपोर्टको आधार मानिएको जनाइएको छ ।

सर्वेक्षणहरूमध्ये विश्व बैङ्कले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम–कारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ ।

सन् २०२२ को सूचकांकमा नेपालको स्थान औसतभन्दा तल रहेको अर्थात भ्रष्टाचार गम्भीर समस्याकै रुपमा रहेको देखिएको ट्रान्सपरेन्सीको भनाइ छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध