बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण
काठमाडौँ– काठमाडौँको मैतीदेवीमा बस्ने ११ वर्षीय अनिश न्यौपानेले फरक व्यवहार देखाउन थाले । ११ वर्षको बच्चाले देखाउने व्यवहार परिवारलाई अस्वाभाविक लाग्यो ।
अनिश स–साना कुरामा अझ भनौँ बिनाकारण झर्किने, रिसाउने, नराम्रा शब्द बोल्ने गर्न थाले । परिवारका अन्य सदस्यसँग नजिक हुन छाडे । आफूलाई कोठामा थुनेर राख्ने गर्थे ।
भाइको यस्तो व्यवहारले उनकी दिदी मनिलाले भाइलाई एक पटक चिकित्सकलाई देखाउनु उचित हुने ठानिन् ।
साथीभाइ र आफन्तले उनलाई मनोचिकित्सककहाँ लैजान सुझाव दिए । मनिलालाई जब मनोचिकित्सकले अनिशको व्यवहार परिवर्तनको कारण बताए, उनी छाँगाबाट खसेझैँ भइन् ।
पारिवारिक वातावरणका कारण अनिशको व्यवहारमा परिवर्तन आएको डाक्टरको भनाइ थियो । चिकित्सकको कुरा सुनेपछि उनलाई लाग्यो– यति सानै उमेरमा पारिवारिक तनावको प्रभाव कसरी पर्छ ? डाक्टरले भनेको कुरामा उनलाई खासै विश्वास त लागेन तर विश्वास नगरी पनि धर थिएन ।
तर चिकित्सकले यसलाई गम्भीर रूपमा नलिए समस्या झनै जटिल हुन सक्ने भएकाले पारिवारिक वातावरणमा सुधार गरी अनिशको छेउछाउ जति सक्दो राम्रो वातावरण सिर्जना गर्न र उनलाई सकेसम्म धेरै समय दिन सुझाव दिए ।
अनिश जस्तै पछिल्लो समय विविध कारणले बालबालिकामा मानसिक तनाव बढ्ने गरेको मनोविदहरू बताउँछन् । मानसिक तनावकै कारण बालबालिकाले आत्महत्या गर्ने क्रम पनि बढेको पाइएको छ ।
बालबालिकाको आत्महत्या तथ्यांक कहालीलाग्दो
नेपाल प्रहरीको तथ्यांकअनुसार आलु आर्थिक वर्षको मंसिरसम्ममा २ हजार ७३६ आत्महत्याका मुद्दा दर्ता भएका छन् । जसमा १८५ बालिका र ११० बालकका केस छन् । जसमा सबैभन्दा बढी संख्या झुन्डिएर आत्महत्या गर्ने बालिकाको छ ।
आर्थिक वर्ष २०७७/७८ मा देशभर ७ हजार ११७ वटा मुद्दा दर्ता भएकामध्ये ७६४ बालबालिकाको आत्महत्याका कारण मृत्यु भएको थियो । जसमा बालिकाको संख्या ४७० छ भने २९४ बालक छन् ।
२०७७/७८ मा सबैभन्दा धेरै मधेस प्रदेशमा ५५ बालक र १३३ बालिकाले झुन्डिएर आत्महत्या गरेका तथ्याङ्कले देखाउँछ ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा देशभर ६ हजार ७९२ मुद्दा दर्ता भएकामा ७१२ बालबालिका आत्महत्या केस छन् । जसमा २५६ बालक र ४५६ बालिकाले आत्महत्या गरेको देखिएको छ ।
२०७८/७९ मा पनि सबभैन्दा धेरै झुन्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले जनवरी २०१९ देखि जनवरी २०२० सम्म नेपालका सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार १३ वर्ष उमेर समूहका ४ प्रतिशत, १४ वर्ष उमेर समूहका ४.८ प्रतिशत, १५ वर्ष उमेर समूहका ३.५, १६ वर्ष उमेर समूहका ७.७ प्रतिशत र १७ वर्ष उमेर समूहका ६.६ प्रतिशत बालबालिकामा मानसिक समस्या देखिएको छ ।
एनएचआरसीले १५ हजार ८८ जनामा गरेकोे सर्वेक्षणमा ९ हजार २०० जना १८ वर्षमाथिका र ५ हजार ८८८ जना १३ देखि १७ वर्षसम्मका किशोरकिशोरी सहभागी थिए । जसमा लैंगिक हिसाबले किशोरीहरूमा बढी समस्या देखिएको पाइएको थियो ।
सर्वेक्षणमा ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या रहेको, ०.६ प्रतिशतमा उदासीनता, ३.९ प्रतिशतमा हालको अवस्थामा आत्महत्याको सोच रहेको उल्लेख छ । सर्वेक्षणका अनुसार प्रदेश १ का किशोरकिशोरीमा मानसिक समस्या सबैभन्दा बढी अर्थात् ११.४ प्रतिशत छ ।
पारिवारिक तनावले लिन्छ बच्चाको ज्यान
यसरी बालबालिका आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण मानसिक तनाव हुने गरेको बताउँछन्– मानसिक अस्पताल लगनखेलका मानसिक रोग विशेषज्ञ डाक्टर ईश्वरी खनाल ।
बालबालिकामा विशेष गरी परिवारमा समस्या आएको खण्डमा, विद्यालय वा साथीहरूबाट हेपिएमा, परिवारले उपयुक्त समय नदिँदा एक्लोपनको महसुस हुने गर्छ ।
पछिल्लो समय एक्लोपनका कारण लागुपदार्थको बढी सेवान गर्नले पनि यस्ता घटना बढेको हुन सक्ने उनको अनुमान छ ।
त्यस्तै पछिल्लो समय अभिभावक काममा व्यस्त भएका कारण बच्चाहरूलाई मोबाइल फोन दिएर भुलाउने गर्छन्, जुन बच्चाहरूका लागि खतरनाक सावित हुने गरेको उनको भनाइ छ ।
बालबालिकाले मोबाइलमा हेर्न मिल्ने/नमिल्ने सबै प्रकारका सामग्री हेर्ने भएका कारण पनि बालबालिकाको मनोभावना नकारात्मक हुने उनको भनाइ छ ।
त्यस्तै बालबालिकामा मानसिक तनाव धेरै भएको खण्डमा उनीहरूको भविष्यमा समेत नराम्रो असर पर्न जाने डाक्टर खनाल बताउँछन् ।
बच्चाहरूलाई मानसिक तनाव हुन नदिन अभिभावकले समय–समयमा उनीहरूको व्यवहारमा आउने परिवर्तनहरूबारे ध्यान दिनुपर्छ । साथै समस्या गम्भीर छ जस्तो लागेमा मनोचिकित्सकको सल्लाह लिनुपर्ने पर्ने डाक्टर खनालले बताउँछन् ।