Nic Ad Nic Ad
Nic Ad Nic Ad

गाउँमै स्वास्थ्य सेवाको पहुँच

मंगलबार, माघ १७, २०७९

बागलुङ -सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्योपचारमा समस्या थियो । काठेखोलाका गाउँहरूबाट नागरिक स्वास्थ्योपचारका लागि घण्टौँ लगाएर बागलुङ बजार पुग्नुपर्ने अवस्था थियो । गाउँमा कोही बिरामी हुँदा अस्पतालभन्दा धामी–झाँक्रीकहाँ पुग्ने गर्थे । गाउँ नजिक स्वास्थ्य संस्था थिएनन् ।
तर अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पालिकाका ७ वडामा ७ स्वास्थ्यचौकी, ४ स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा १/१ वटा स्वास्थ्यचौकी भए पनि नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् ।
ठाउँ–ठाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि निकै सहज भएको स्थानीय पुतली थापाले बताइन् । 
नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए । नागरिक बिरामी परे घण्टौँ लागेर स्वास्थ्य संस्था पुग्ने बाध्यतालाई केही रूपमा सहज गराउनका लागि सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनको भनाइ छ ।
गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यचौकीको स्तरवृद्धि गर्ने र आधुनिक उपकरण तथा औषधि व्यवस्थापनमा जोड दिएको उापाध्यक्ष थापाको भनाइ छ । पहिले घण्टौँ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिक अहिले १५ मिनेट आउन सक्ने भएको उनले बताए । आफूहरू निर्वाचित भएर आएपछि वडा –८ मा कादेस स्वास्थ्य एकाइ, वडा –१ दोबिल्ला स्वास्थ्य एकाइ, वडा –४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा – ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
गाउँपालिका स्थापना हुनु पहिले ७ वटा स्वास्थ्यचौकी थिए ।  गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामचन्द्र लामाले गाउँपालिकाले केही स्वास्थ्यचौकीबाट एक्सरे सेवासहित ल्याब सेवा पनि सञ्चालनमा ल्याएको बताए ।
अहिले ७ वटै स्वास्थ्यचौकीमा ल्याब र रेश स्वास्थ्यचौकीमा ल्याबसहित एक्सरे सेवा छ । ७ वटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । 

पछिल्लो ३ वर्षयता काठेखोला गाउँपालिकामा होम डेलिभरी शून्य छ । नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिकाको प्रभावकारी कार्यक्रमले गर्दा काठेखोलामा शून्य होम डेलिभरी हुन सफल भएको स्वास्थ्य संयोजक रामचन्द्र लामाले बताए । गर्भवती  नियमित गर्भ परीक्षण गर्न आउने र उनीहरूलाई स्वास्थ्यकर्मीले परामर्श दिइराखेको उनको भनाइ छ ।
गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगीलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । पालिकाले दीर्घरोगीको लगत सङ्कलन गरी उनीहरूको जीवन निर्वाहमा टेवा पु¥याउनका लागि हरेक महिना ५ हजार भत्ता प्रदान गर्ने व्यवस्था गरेको गाउँपालिकाका प्रवक्त टीकासङ्गम विकले जानकारी दिए ।


 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्