भाइदेगः पुनर्निर्माणका लागि पैदलयात्रा
काठमाडौँ– रोटरी क्लब अफ पाटन हेरिटेजले सम्पदाको संरक्षणका लागि पैदलयात्रा गर्ने भएको छ ।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा कला तथा संस्कृति, सम्पदा संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्न विद्यमान भाषा, कला, र संस्कृतिको जगेर्ना गर्न र जनमानसमा यसबारे अवगत गराई सम्पदाको प्रचारप्रसार गर्ने मनसायले पैदलयात्रा गर्न लागिएको जानकारी गराइएको छ ।
फागुन ६ गते हुने पैदलयात्रा ललितपुर मंगलबजार दरबार स्क्वायरबाट बिहान ७ बजे सुरु भई मंगलबजार, पुल्चोक, अक्षेश्वर महाबिहार, भनिमण्डल, जलविनायक, पाँगा बसपार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म १२ किलोमिटरको रहेको बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै रोटरी क्लब अफ पाटन हेरिटेजका सदस्य प्रदीप श्रेष्ठले पैदलयात्रामा २ हजारभन्दा बढी व्यक्तिहरूको सहभागिता गराउने संस्थाको उद्देश्य रहेको बताए ।
उनले पैदलयात्रामा सहभागिता जनाउन चाहनेले प्रतिव्यक्ति ७०० रुपैयाँ सहयोगस्वरूप खल्ती एपमा पठाउन आग्रह गरे । नाम दर्ता भएका सहभागीहरूलाई प्रतिव्यक्ति टिसर्ट, क्याप र खाजा उपलब्ध गराउने बताइएको छ ।
दर्ता शुल्कबाट संकलित सहयोग भाइदेगः पुनर्निर्माण गरिरहेको संस्था संस्कृति सम्पदा संरक्षण समूहलाई उपलब्ध गराइने हेरिटेजले बताएको छ ।
हेरिटेजले सम्पदा संरक्षणमा सहयोग जुटाउनका लागि पैदलयात्राको कार्यक्रम राखेको जनाएको छ । भाइदेगः मन्दिर ललितपुर मंगलबजारस्थित दरबार स्क्वायरको दक्षिण पश्चिमतर्फ ९हाल निर्माणाधीन अवस्थामा० छ । तल्ले शैलीको कलात्मक आकर्षण रहेको महादेवको मन्दिर १९९० सालको भूकम्पमा भत्किएको थियो ।
राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा तत्कालीन प्रधानमन्त्री भारो भागीरथ भैयाले १७३५ सालमा मन्दिर बनाएका थिए ।