Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

मंगलबार, माघ १७, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताएका छन्। 
मंगलबार नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् । 
सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको बताउँदै प्रचण्डले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उल्लेख गरे । 
प्रधानमन्त्री दाहालले सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिबद्ध रहेको पनि बताए । पत्रकार र सञ्चारमाध्यमको पेसागत र भौतिक सुरक्षाको प्रत्याभूति गरिने बताएका उनले पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमाको व्यवस्था गरिने पनि उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गरिने र सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने बताए ।
उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारण गरेर अघि बढेको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, अर्थतन्त्रको सुधार र जनसेवा सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले सरकारको कार्यभारलाई व्यवस्थित रूपले सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरे ।
‘चुनौतीपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अघि बढिरहेको छ,’ उनले भने, ‘लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रगतिशिल कार्यान्वयन, चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार एवं जनसेवा र जनजीविकाको क्षेत्रमा प्रभावकारी कार्य सम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार हो भन्ने मेरो विश्वास छ ।’
प्रधानमन्त्री दाहालले सूचना तथा समाचार सम्प्रेषणमा नेपाल टेलिभिजनले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे । उनले नेपाल टेलिभिजन सबै समुदायको अपनत्व हुने गरी अघि बढेको बताउँदै राज्य प्रणालीमा परिवर्तन भएअनुरुप नेपाल टेलिभिजनले पनि आफूलाई रूपान्तरण गर्दै जानु सराहनीय काम भएको बताए ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्