अदालतको पूर्ण पाठ नआउन्जेल गृहमन्त्री कोही बन्दैन : प्रचण्ड
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट रवि लामिछानेको मुद्दाको फैसलाको पूर्ण पाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका छन् ।
मंगलबार माओावादी केन्द्रको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् । बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन ।’
बैठकमा अध्यक्ष ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका थिए ।
रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बिहान बालुवाटारमा भेटेर आफूलाई आज साँझसम्म उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने चेतावनी दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले ठोस जबाफ नदिएर सल्लाह गर्छौं भनेपछि उनले आज मंगलबार साँझसम्मको समयसीमा दिएका थिए ।