Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल प्रहरीलाई पाँचौँ सम्झना कप टेबलटेनिसको स्वर्ण

बुधबार, माघ १८, २०७९

काठमाडौँ – नेपाल प्रहरी क्लबले ५औँ सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा स्वर्ण जितेको छ । मङ्गलवार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गर्‍यो ।

डबल्समा प्रहरीका मञ्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–९, ११–६ र ११–९ को सोझो सेटमा पराजित गर्‍यो । सिङ्गल्समा प्रहरीकी नविता श्रेष्ठले दिया देउलालाई सीधा सेटमा ११–४, ११–५ र ११–८ ले हराइन् ।

अर्को सिङ्गल्समा एलिनाले रविनालाई ११–४, ३–११, ५–११, ११–४ र ११–७ ले पाखा लगाइन् । ललितपुर जिल्ला टेबल टेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको भेट्रान महिला ४० वर्षमाथि सिङ्गल्समा ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लबकी इन्दिरा पौडेल पराजुली पहिलो भइन् । इन्दिराले फाइनलमा आफ्नै क्लबकी सम्झना पोखरेललाई ११–६, ११–५ र ११–४ को सोझो सेटमा पन्छाइन् । 

लगनखलकी हीरादेवी नकर्मी र ज्ञानभैरवकी सविता बस्नेत केसी तेस्रो भए । सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालिको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न सात स्पर्धामा दुई सय पुरुष र ५६ महिला गरी दुई सय ५६ खेलाडी सहभागी छन् । पुरुषमा भारतबाट नौ, बेलायतबाट दुई तथा फ्रान्स र पोर्चुगलबाट समान एक–एक खेलाडी सहभागी छन् । महिलामा विदेशी खेलाडी सहभागी छैनन् ।

सिङ्गल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । भेट्रान पुरुष सिङ्गल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिङ्गल्स ४० वर्षमाथिमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार हात पार्ने छन् । 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०६:३४
प्रतिक्रिया दिनुहोस्