Nic Ad Nic Ad
Nic Ad Nic Ad

मध्यमाघसम्म हिउँ न वर्षा, चिन्तामा किसान

बुधबार, माघ १८, २०७९

गण्डकी - 'हावा मात्र चल्छ, हिउँ पर्दैन, पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन,' मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले आफ्नाे अनुभव सुनाउँदै थिए । मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेकाे छैन । 

गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ । सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ । हिउँ नपरे उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने थकालीले बताए । हिउँमा खुल्ने मुस्ताङका पर्यटकीयस्थल पनि उजाड देखिन थालेको उनको भनाइ छ ।

घरपझोङ–२ मार्फाका दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने उल्लेख गरे । 'चिस्यान पुगेन भने स्याउ उत्पादनमा ह्रास आउन सक्छ, मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिनुपर्ने अवस्था छैन,' उनले भने ।  जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने मौसमले चिन्ता थपिदिएको उनको भनाइ छ ।

थासाङमा सिँचाइको उचित प्रबन्ध छैन । हिमपात र वर्षा नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन प्रभावित भएको छ । लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताए । 'यो वर्ष पुस, माघमा पनि उति साह्रो जाडो भएन',उनले भने ।  

चिसो छल्न बेँसी र सहर झरेका मुस्ताङी पनि हिउँ नपरेको सुन्दा अचम्मित छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने बताए। 'स्याउको फूल फुल्न र फल लाग्न जति चिसोपना चाहिने हो त्यो पुगेन भने उत्पादन घट्छ', उनले भने।

जाैँ, गहुँ, उवा छरिसकेका र आलु लगाउने तयारीमा रहेका किसानले हिमपात पर्खिरहेको बस्ताकोटीले बताए । 'माघ घर्किन लाग्दासम्म हिमपात नुहुन जलवायु परिवर्तनको असर पनि हुनसक्छ, यस्तो क्रम दोहोरिरहे हिमाली भेगमा नयाँ बालीले प्रवेश पाउने, रैथानेको उत्पादन घट्ने हुन्छ,' उनले भने ।  

पछिल्लो समय मुस्ताङको उपल्लो भेगमासमेत काँक्रा, गोलभेँडाजस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको उनले सुनाए। मुस्ताङमात्र नभएर गण्डकी प्रदेशका कुनै पनि हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन । छिटपुट वर्षासमेत हुनसकेको छैन । 

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको बताए । 'बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्छ', उनले भने। 

बाह्रैमास नहर र कुलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने प्रमुख रेग्मीले बताए। हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उनले उल्लेख गरेका छन् । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने उनको भनाइ छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले गण्डकी प्रदेशमा तत्काल पानी पर्ने सम्भावना नरहेको बताए। आकाश धुम्म भए पनि अहिलेको मौसम प्रणालीले वर्षा नहुने उनको भनाइ छ ।

'गण्डकी प्रदेशसहित देशैभर सामान्यतया मौसम बदलीको अवस्था छ', उनले भने, 'बदली वर्षामा परिणत हुने सम्भावना भने छैन ।' हिमाली भेगका केही ठाउँमा हल्का हिमपात भने हुनसक्ने महाशाखाको अनुमान छ । 

'यसपालिको हिउँदमा अहिलेसम्म हिमपात र वर्षा हुनसकेको छैन, नयाँ मौसम प्रणाली आएर वर्षा र हिमपात गराउन पनि सक्छ तर त्यो यकिन छैन', मौसमविद् अधिकारीले भने ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०७:२९
प्रतिक्रिया दिनुहोस्