Nic Ad Nic Ad
Nic Ad Nic Ad

२१ माघदेखि राष्ट्रिय महिला भलिबल

बुधबार, माघ १८, २०७९

काठमाडौँ– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको छैटौँ संस्करण हुने भएको छ । 

प्रतिष्ठानले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महिला भलिबल खेलाडीको सशक्तीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरूप माघ २१ देखि २४ गतेसम्म दशरथ रंगशालामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहने छ । 

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेता टोलीलाई नगद ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले राष्ट्रिय प्रतियोगिताले भलिबलको स्तर विकासका सहयोग पुग्ने बताए ।

उनले नेपालको भलिबल क्षेत्रको पूर्वाधारलाई बलियो बनाउन संघको ध्यान केन्द्रित रहेको धारणा राखे ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानले मुख्य प्रायोजक बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकसँग सम्झौता पनि गरेको छ ।

प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी नेरोलेकका कन्ट्री डाइरेक्टर मनोजकुमार मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

प्रतियोगिताको अनुमानित बजेट करिब ४० लाख रुपैयाँ रहेको जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्