हृदेन्द्र पार्क निर्माण प्रक्रिया सुरु
विराटनगर– विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अघि बढाएको छ ।
विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो ।
मंगलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र वडा–१ का अध्यक्ष काजीबहादुर बस्नेतको उपस्थितिमा प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
महानगरले सोही अध्ययन प्रतिवेदनका आधारमा पार्क निर्माण गर्नेछ ।
६ कठ्ठा क्षेत्रफलमा फैलिने उक्त पार्कमा अत्याधुनिक प्रवेशद्वारसहित स्विमिङ पुल, जिपलाइन, भुलभुलैया, पार्किङ, कफी सप, फाउन्टेनलगायत सुविधा हुने छन् । महानगरले चालु आर्थिक वर्षका लागि १ करोड रकम विनियोजन गरेको छ ।
प्रमुख कोइरालाले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम गर्ने बताउँदै १० दिनभित्र अन्तिम अध्ययन प्रतिवेदन बुझाउन परामर्शदातालाई निर्देशनसमेत दिएका छन् ।
प्रतिवेदनले अन्तिम रूप लिएपछि ठेक्का प्रक्रियाबाट काम अघि बढाइने छ ।