Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागलुङ–पोखरा सडक दैनिक ८ घन्टा बन्द हुने

बुधबार, माघ १८, २०७९

बलेवा– मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक ८ घन्टा बन्द हुने भएको छ । बागलुङ–पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । 

मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ ।

आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारीसाधन रोकेर आयोजनाको कामलाई तीव्रता दिइने छ ।

रोकिएका सवारीसाधनलाई आधा घन्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ ।

पोखरा–बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । सो खण्डको निर्माणका लागि मोतीदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।

चौवारीबाट ५० मिटरअगाडि हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

उनका अनुसार उक्त सडकमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ । 

बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई प्रदेशको राजधानी पोखरा र देशको राजधानी काठमाडौँलगायत देशका ठुला सहरसँग जोड्ने मुख्य राजमार्ग भएकाले यहाँका सर्वसाधारण प्रभावित हुनेछन् ।

यो सडकखण्डमा दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्