ऋणले थिचिएका किसानलाई जोगाउन महामन्त्री थापाको माग
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले बैंकहरूले किसानलाई मर्कामा पारेको भन्दै ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका हुन् ।
पछिल्लो समय सयौँको सख्यामा साना किसानहरू कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताउँदै उनले बैंकहरूबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्यूनीकरण गर्ने नाममा सरकारले कुखुरा फार्म नष्ट गरेबापत पाउने ५८ करोड क्षतिपूर्ति तत्काल दिन पनि माग गरे ।
उनले किसानहरूले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिए ।
त्यस्तै, स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले पछिल्लो समय आत्मदाह गर्नेको संख्या बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरे ।
उनले मानिसहरूले सामान्य जीवन चलाउन समस्या भएको अवस्थामा न्यायिक समितिले जीवन चलाउन सहज बनाउने बताए ।