काठमाडौँमा १५८ वटा सीसीटिभी क्यामरा चालु अवस्थामा
काठमाडौँ –काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको सहकार्यमा जडान गरिएका १६५ वटा सीसीटिभी क्यामरामध्ये अहिले १५८ वटा चालु आवस्थामा छन् । राखिएकामध्ये सडक विस्तारका क्रममा ७ वटा प्रयोगविहीन भएका हुन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी भइरहेको छ ।
सहकार्यमा जडान भएका सीसीटिभी क्यामराको प्रयोगबारे जानकारी लिन महानगरका प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजकसहित पदाधिकारी उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगेको थियो । त्यस क्रममा प्रहरी उपरीक्षक कृष्णबहादुर धितालले सहकार्यबाट जडान भएका सीसीटिभी क्यामराका विषयमा जानकारी गराएका थिए ।
त्यस क्रममा सीसीटिभी कन्ट्रोल रुम, सर्भर कक्ष, भिडियो वाल, प्रहरी सहयोगका लागि गरिने आकस्मिक फोन १०० (कल सेन्टर) सञ्चालन व्यवस्थापन अनलोकन गरिएको थियो ।
सीसीटिभीबाट सहरी गतिविधिको निगरानीका विषयमा जानकारी लिइ सकेपछि प्रवक्ता मानन्धरले, शान्ति सुरक्षा र सहरी व्यवस्थापनका कोणबाट सीसीटिभी जडान गरिनुपर्ने बताए ।
यसरी उपलब्ध गराइएका दृश्यले प्रहरीमा प्राप्त भएका उजुरी मध्ये ६१ प्रतिशत विवाद सुल्झिएको प्रहरी उपरीक्षक धितालको भनाइ छ ।
२०७५ माघ २५ गते बसेको नगर कार्यपालिकाको बैठकले सहरमा शान्ति सुरक्षा कायम गर्न तथा सहरी व्यवस्थापनका क्रियाकलापमा निगरानी गर्नका लागि सीसीटिभी क्यामरा जडान, सञ्चालन, मर्मत सम्भार र सूचनाको उपयोग गर्ने प्रणालीका लागि नेपाल प्रहरीसँग सहकार्य गर्ने निर्णय गरेको थियो । यही निर्णयका आधारमा २०७५ फागुन १५ गते सम्झौता गरेर महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई ३ करोड रुपैयाँको चेक प्रदान गरेका थिए ।
प्रहरीमा आ.व. २०७८÷०७९ मा सीसीटिभी फुटेज माग गर्दै २ हजार १७६ वटा निवेदन प्राप्त भएका थिए । जसमध्ये १ हजार २६४ निवेदकलाई फुटेज उपलब्ध गराइएको थियो ।
सीसीटिभी फुटेजबाट ट्राफिक लेन, फिल्ड अनुशासन कायम नगरेका २ हजार ५६५ जनालाई कारवाही गरिएको थियो ।
नेपाल प्रहरीले २०६३ सालमा ११ वटा एनालग सीसीटिभी क्यामेरा राखेर निगरानी सुरु गरेको हो । २०७१ साल १८ औँ सार्क शिखर सम्मेलनका समयमा २०३ वटा आइपी बेस क्यामरा थप गरिएको थियो ।