Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविको चेतावनीपछि झन ‘रिल्याक्स मुड’मा देखिन्थे प्रचण्ड

रवि लामिछानेलाई वकिलसँग परामर्श गर्न प्रचण्डको सुझाव
बुधबार, माघ १८, २०७९

काठमाडौं । सत्ता गठबन्धन संकटमा परेको स्पष्ट संकेत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझ ‘रिल्याक्स’मा देखिएका छन् । 

मंगलबार विहान सत्ता गठबन्धनको साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रालय नपाए सरकार छोड्ने चेतावनी दिएपछि पार्टीको पदाधिकारी बैठकमा सहभागी भएका प्रचण्ड निकै ‘रिल्याक्स मुड’मा देखिएका एक पदाधिकारीले जानकारी दिए ।

‘सत्ता साझेदार दल रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको खबर सार्वजनिक भएपछि उहाँ (प्रचण्ड) पदाधिकारी बैठकमा भाग लिन आउनु भएको थियो, निकै तनावमा हुनुहुन्छ होला भन्ने हामीले अनुमान गरेका थियौं तर ‘बडील्यांग्वेज’ले उहाँ बढो ‘रिल्याक्स मुड’मा हुनुहुन्छ भन्ने संकेत गथ्र्याे,’ माओवादी केन्द्रका एक पदाधिकारीले सिएन नेपालसँग भने ।

प्रधानमन्त्री प्रचण्ड मओवादी केन्द्रका अध्यक्ष्य पनि हुन् । प्रतिनिधिसभामा २० सिट रहेको रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी विवादमा सर्वाेच्च अदालतको आदेशले उनको सांसद पद खारेज भएको छ । यस्तै, लामिछानेलाई सरकारमा उपप्रधान तथा गृहमन्त्री बनाइएको थियो । अहिले उनी सो पदबाट पनि मुक्त भएका छन् ।

सर्वाेच्चको आदेश आएपछि कार्यालय खुलेकै दिन जिल्ला प्रशासन कार्यालय पुगेर लामिछानेले आफ्नो नागरिकता कायम गरेका छन् । नागरिकता कायम गरेपछि उनी पुन पार्टी सभापति भएका छन् भने सांसद नरहे पनि गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहाललाई दबाब दिइरहेका बताइएको छ । 

यस्तै, सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई पुन गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहाललाई दबाब दिइरहेका बताइएको छ । नेपालको संविधान अनुसार सांसद नभएको व्यक्तिलाई पनि ६ महिनासम्मको लागि मन्त्री बनाउन पाइन्छ । 

मंगलबारको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले लामिछानेसँग भएको कुराकानी पनि सुनाएका थिए । लामिछानेले गृहमन्त्रालय रास्वपाले नै पाउनु पर्ने र गृहमन्त्री आफै हुन चाहेको प्रचण्डको ब्रिफिङ थियो ।

‘प्रधानमन्त्रीज्यूले बैठकको अन्तिमतिर आफ्ना कुरा राख्नुभएको थियो, त्यसमा उहाँले रविजीले गृहमन्त्रालय रास्वपाले नै पाउनु पर्छ र गृहमन्त्री म नै बन्छु भनेर कुरा गर्नु भएको थियो, मैले अब परिस्थिति परिवर्तन भएकोले त्यो सम्भव नहुने बताएको छु भन्ने आसयको कुरा पदाधिकारी बैठकमा सुनाउनु भयो,’ माओवादी केन्द्रका ती पदाधिकारीले भने ।

लामिछानेले आफू फेरि गृहमन्त्री हुने इच्छा देखाएपछि प्रधानमन्त्री प्रचण्डले त्यसो गर्न सम्भव नहुने संकेत गरेका थिए । नागरिकता विवादमा परेर सबै प्रकारका सार्वजनिक पद गएको र राहदानी सम्बन्धी विषय अझै पनि न्यायिक निरुपणमै रहेकोले पुन गृहमन्त्री बन्ने प्रयास नगर्न प्रचण्डको सुझाव थियो ।

‘रविजीले फेरि जसरी पनि गृहमन्त्री बन्नुपर्यो भन्ने आशय व्यक्त गर्नुभएछ, प्रधानमन्त्रीज्यूले त्यस्तो जिद्दी नगर्न र बरु वकिल (कानुन व्यवसायी) सँग एक पटक परामर्श गर्न सल्लाह दिनुभएछ,’ स्रोतले भन्यो ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्