रुसले ठूलो आक्रमणको योजना बनाएको युक्रेनको दाबी
काठमाडौँ –युक्रेन हमलाको वर्षगाँठको आसपासमा ठूलो आक्रमण गर्ने तयारीमा रुस रहेको दाबी युक्रेनले गरेको छ ।
युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्नीकोवले रुसले आक्रमणको वर्षगाँठ फेब्रुअरी २४ को आसपासमा ठूलो आक्रमणका लागि ठूलो संख्यामा सैनिकलाई युक्रेनी सीमा क्षेत्रमा एकीकृत गरिएको दाबी गरेका हुन् ।
आक्रमणका लागि रुसले कम्तिमा ५ लाख सैनिकलाई परिचालन गरेको दाबी पनि रेज्नीकोवको छ । फ्रान्सेली न्युज नेटवर्क बीएफएमसँग कुरा गर्दै उनले रुस निर्णायक आक्रमणको खोजीमा रहेको बताएका हुन् । तर, युक्रेनी सेना पनि अहिलेको भन्दा पछाडि हट्ने अवस्थामा नरहेको भन्दै युक्रेनी विदेशमन्त्री रोज्नीकोवले रुसी योजनालाई असफल बनाउने रणनीतिमा जुटेको बताए ।
उता, नाटो महासचिव जेन्स स्टोलटेन्वर्गले पनि रुस आफ्नो लक्ष्यबाट पछि हट्न तयार नभएको बताएका छन् । थप सैन्य तथा हात हतियारको तयारी रुसले गरेको भन्दै उनले लामो युद्धका लागि पश्चिममा देशहरु पनि तयार रहनुपर्ने स्टोलटेन्वर्गको सुझाव छ ।