संसदीय व्यस्तताले पार्टी बैठक सर्यो : कांग्रेस
काठमाडौँ– नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको जानकारी दिए ।
उनले संसद्भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताए । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अन्य दलसँग छलफलका क्रममा रहेको पनि बताए ।
प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति÷उपराष्ट्रपति र सभामुख÷उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोही अनुसार वार्ताका लागि बोलाए कांग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको बताए ।
उनले प्रधानमन्त्रीले सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेन्डा बाहिरिएपछि कांग्रेस छलफलका लागि जाने धारणा राखे ।
प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस राष्ट्रपति निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको पनि बताए ।