महिला मिलेर खोलेको अचार उद्योग
कपिलवस्तु– कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
७ वर्षअघि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक ५० हजार रूपैयाँको कारोबार गर्दै आएका छन् ।
अधिकतम वार्षिक १५ लाख रूपैयाँसम्म आम्दानी गरेको उद्योगकी अध्यक्ष पवित्रा भट्टराईले बताइन् ।
स्थानीयस्तरमै अचार उत्पादन गरी यसलाई व्यवसायका रूपमा अघि बढाउन ६ महिला सामूहिक रूपमा लागेका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाले प्रदान गरेको तालिममार्फत अचार बनाउन सिकेको उद्योगकी अध्यक्ष भट्टराईले बताइन् ।
‘हातमा सीप नहुँदा घरमै बसेर दिन कटाउन बाध्य थियौँ । घरेलु कार्यालयले अचार बनाउने तालिम दियो । यही सीपलाई व्यवसायमा जोडेका हौँ’, उनले भनिन् ।
आफूसहित ६ महिलाको सक्रियतामा उद्योग सञ्चालन भएको उनले बताइन् ।
वाार्षिक रूपमा अचार बिक्री गरेर घर खर्च चलाउँदै आएका यी महिलालाई बालबच्चाको पढाइदेखि आफूलाई आवश्यक परेका सामान किन्न सहज भएको छ ।
‘आफ्नो कमाइ नहुँदा पतिसँग आश्रित हुनुपर्ने थियो । अहिले त्यो बाध्यता हटेको छ’, भट्टराई भन्छिन् । घरको काम सकेर रहेको फुर्सदिलो समयमा अचार बनाउने गरेको उनले बताइन् ।
बुद्धवाटिका उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर अर्घाखाँची, प्युठान, दाङ, नेपालगन्ज, बुटवललगायत सहरमा हुने गरेको छ ।
जिल्लाभित्र र बाहिर लाग्ने औद्योगिक मेलामा समेत अचारको माग बढ्दो छ । अचार उद्योगबाट वार्षिक १० हजार किलोसम्म उत्पादन हुने गरेको छ । उद्योगमा विभिन्न ब्रान्डका अचार उत्पादन हुने गरेको छ ।
उद्योगमा आँप, अमला, लसुन, अदुवा, मुला, खुर्सानी, अकबरे–खुर्सानी, अकबरे–तामा, मिक्स, कागती दाना, मेथी, करेलालगायत विभिन्न स्वादका अचार छन् ।
उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, बाँसको तामा, टिमुर, लसुन, करेलालगायत सामान बुटवलबाट आउने गरेको उद्योगले जनाएको छ ।
सुरुआती चरणमा अचारले राम्रो बजार पाउन नसके पनि आजभोलि बजारको खासै समस्या नहुने सञ्चालक मीना बेल्वासेको भनाइ छ । अचार बनाउन धेरै लगानी लगाउन नपर्ने बेल्वासेले बताइन् ।
आफ्नै गाउँघरमा उत्पादन भएको अचार प्रयोग गर्न उनको सुझाव छ । ‘हामी कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ’, उनले भनिन् ।
ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ । ४०० ग्रामसम्मको मिक्स अचारलाई सय रूपैयाँसम्म पर्ने गरेको छ ।
सबैभन्दा बढी मूल्यको अचार अकबरे खुर्सानीको छ । ४०० ग्रामसम्मको अकबरे खुर्सानीको मूल्य २५० रूपैयाँसम्म पर्छ ।
उद्योगमा उत्पादित अचारको व्यवसायलाई थप फस्टाउने योजना रहेको अध्यक्ष भट्टराईले सुनाइन् । महिला मात्र संलग्न रहेका कारण बजारलाई व्यवस्थित पार्न नसकिएको उनको भनाइ छ ।
आगामी नयाँ वर्षदेखि बाँकेको परान्चु अचार उद्योगसँग सहकार्य गरी व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उनले जानकारी दिइन् ।
‘उत्पादित अचारलाई बजारसम्म लैजान सकेका छैनौँ । महिला मात्र भएका कारण बजारको समस्या छ । बाँकेको परान्चु अचार उद्योगसँग समन्वय गरिरहेका छौँ, अब त्यही उद्योगले अचार लैजाने आशामा छौँ,’ उनले भनिन् ।
महिलाले गरेको सामूहिक उद्यमलाई बुद्धभूमि नगरपालिकाले समेत सहयोग गर्दै आएको छ ।
नगर प्रमुख केशवकुमार श्रेष्ठले अचार उद्योगलाई वार्षिक रूपमा अचार बनाउने तालिमका लागि बजेट छुट्याएर सहकार्य गरेको बताए । ‘सीधै बजेट दिएका छैनौँ, तालिममार्फत सहकार्य गरिरहेका छौँ’, उनले भने ।