बाँकेमा दादुराको सङ्क्रमण कायमै
राँझा – बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ । अहिलेसम्म ३०९ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन् । दादुराको सङ्क्रमणबाट अहिलेसम्म नेपालगञ्जमा १ जनाको मृत्यु भइसकेको छ । यहाँ अहिलेसम्म २१३ सङ्क्रमित फेला परेका छन् ।
हालसम्म नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा ९ र राप्ती सोनारीमा ७ जनालाई दादुरा सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये १० जनाको उपचार भइरहेको छ । नेपालगञ्जका १ सङ्क्रमित अस्पताल भर्ना भएका छन् ।
यसैगरी राप्ती सोनारीका ७ र कोहलपुरका २ बालबालिका ‘होम आइसोलेशन’ मा रहेका श्रेष्ठले जानकारी दिए । दिनहुँ सङ्क्रमण फैलिरहँदा बालबालिका निको हुने क्रम पनि चलिरहेको छ । अहिलेसम्म बाँकेमा २९८ जना निको भइसकेका छन् । नेपालगञ्जका २११, नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका ७ जना बालबालिका निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालगञ्जमा सङ्क्रमण केही कम भए पनि ग्रामीण क्षेत्रतिर बढिरहेकोले दादुरा सङ्क्रमण रोक्न ठाउँठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।