नेपाल आउँदै मलेसियाली गृहमन्त्री
काठमाडौँ– मलेसियाका गृहमन्त्री सैफुदिन नासुतिन इस्माइल नेपाल आउने भएका छन् ।
मलेसिया सरकारले विभिन्न क्षेत्रमा झन्डै ५ लाख नयाँ कामदार भित्र्याउन लागेको बताइएको छ ।
त्यसै सन्दर्भमा त्यहाँका गृहमन्त्रीले नेपाल र बंगलादेशसहित आफ्ना प्रमुख आप्रवासी कामदारका स्रोत देशको भ्रमण गर्न लागेका हुन् ।
यसअघि अघिल्लो साता क्वालालम्पुरमा मलेसियाली गृहमन्त्री र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलबीच भेटवार्ता भएको थियो ।
गृहमन्त्री इस्माइलको नेपाल भ्रमणका क्रममा मलेसियामा थप कामदार पठाउने र त्यहाँ रहेका कामदारको सुरक्षा सुनिश्चित गर्ने विषयबारे छलफल हुने अधिकारीहरूले बताएका छन् ।
नेपालको श्रम मन्त्रालयका अधिकारीका अनुसार नेपाली श्रमिकको सुरक्षा, कामदारको संख्या र पारिश्रमिक वृद्धिसहित सबै विषयमा गृहमन्त्री इस्माइलसँग छलफल हुने छ ।
नेपाली श्रमिकका लागि मलेसिया एउटा प्रमुख श्रम गन्तव्य हो । त्यहाँ झन्डै ७ लाख नेपालीले अहिले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।