Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ हवाई उडान व्यवस्था लागू हुँदै

पाइलटले अब दैनिक ८ घन्टा उडान र ८ पटक मात्र अवतरण गर्न पाउने
बिहीबार, माघ १९, २०७९

काठमाडौँ –नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिष्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ ।

प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यवसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनको लागि हवाई उडानसम्बन्धि नयाँ व्यवस्था लागू गर्न लागेको बताए ।

उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्ड बमोजिम ३÷३ वा ६÷६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनका लागि नियम परिर्माजन गरिएको बताए । 

आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरूसँगको छलफलबाट ५ वटा नियम लागू गर्ने तयारी प्राधिकरणले गरेको छ ।

प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक ८ घन्टा उडान र ८ पटक मात्र अवतरण गर्न पाउने टन् । हाल दैनिक १० घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था रहेको छ । आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने प्राधिकरणका सूचना अधिकारी भुलको भनाइ छ । उनले पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैं ५०० फिट माथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा १ हजार फिट माथि हुनुपर्ने बताए ।

चालक दलका सदस्यको थकानको जोखिम न्युनिकरण गर्न उडानमा २ भन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गर्न लागिएको छ । 

वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने व्यवस्था गरिने छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्