Nic Ad Nic Ad
Nic Ad Nic Ad

सौराहामा पर्यटकीयमार्ग निर्माण हुने

बिहीबार, माघ १९, २०७९

काठमाडौँ –चितवनको सौराहामा पर्यटकीयमार्ग निर्माण हुने भएको छ । सौराहाको ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमूना पर्यटकीयमार्गको शिलान्यास गरिएको हो ।

नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् सौराहा बजार सौन्दर्यीकरण अन्तर्गत पर्ने सो मार्गको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रह्लाद सापकोटाले शिलान्यास गरे । उनले तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचत सौराहाको भौतिक पूर्वाधारको गति ३० वर्ष अघिकै अवस्थामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन साइकल लेन, नाला, हरियाली पार्क र फुटपाथसहित १५ मिटर चौडाइ र करिब १ हजार ५०० मिटर लम्बाइको सडक बनाउन लागिएको बताए ।

१४ करोड २४ लाख रुर्पैयाँको लागतमा पदमार्ग निर्माणको ठेक्का सम्झौता भइसकेको छ  । ‘सौराहाको पर्यापर्यटनका लागि रत्ननगर नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ । हामी सबै मिलेर दोस्रो पर्यटकीय गन्तव्य बनाउन लाग्नुपर्छ’, उनले भनिन् ।

सौराहाको सुन्दरता बढाउन र समुदायको दीर्घकालीन हितका निम्ति यो आयोजना निर्माण गरिन लागेकाले निर्माणका क्रममा भत्काउनुपर्ने स्थायी÷अस्थायीका लागि कसैले पनि चित्त दुखाउन नहुने उनको भनाइ छ ।

उनले सिमलको रुख काट्ने प्रक्रियाका लागि निकुञ्जसँग समन्वय गर्ने र सडक निर्माणका क्रममा घरविहीन हुनेलाई नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिद्धबता व्यक्त गरे ।

आयोजना निर्माणको जिम्मा लोहनी–लोहनी एण्ड सन्स्–हेमन्त जेभी निर्माण कम्पनीले पाएको छ । आयोजनाको काम २८ जेठ २०८१ सम्म सम्पन्न गरिसक्नुपर्ने छ ।

सौराहामा करिब ३० करोड रुपैयाँको बजेट परेको भन्दै उनले नगर गौरवको आयोजनाअन्तरगत बूढीराप्तीमा चित्रसारीदेखि सौराहा जोड्ने कूल ३ करोड ९५ लाख रुपैयाँको लागतमा ‘सिग्नेचर’ पुल निर्माणका लागि सर्भे पूरा भई ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । नगरप्रमुखका रूपमा ५ वर्षे कार्यकालमा सौराहालाई सुगम पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्य रहेको उनको भनाइ छ ।

रत्ननगर–६ का वडाध्यक्ष किरण चौधरीले सौराहाको विकासका लागि राप्ती नदीमा ड्याक निर्माणदेखि पूर्वाधार विकासका लागि पछिल्लो समय भएका काम उदाहरणीय रहेको बताए ।

रत्ननगरले सबैभन्दा धेरै बजेट सौराहा क्षेत्रमा लगाएकाले सौराहालाई नमूना पर्यटकीय गन्तव्य बनाउन यहाँका पर्यटन व्यवसायीको पनि उत्तिकै दायित्व रहेको उल्लेख गरे । 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्