Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘भ्रष्टाचारका समाचार आए भने तपाईंहरूलाई कसैले जोगाउनेवाला छैन’

बिहीबार, माघ १९, २०७९

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

जनतामा ठुलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री गिरीको भनाइ थियो ।

बिहीबार काठमाडौँको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उनले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो विभिन्न सञ्चारमाध्यममा आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको अब पनि पाइए सह्य नहुने चेतावनीसमेत दिए ।

मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराए ।

उनले अस्पतालहरूलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन पनि सम्बन्धित पक्ष लाग्नुपर्ने बताउँदै भने, ‘अहिले लगभग धेरैजसो मिडियामा यो खरिद प्रक्रियाको विषयलाई लिएर अनेक समाचारहरू बन्ने गरेका छन् । खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्ने गरी यहाँहरूले काम गर्नुहोला ।’

‘भोलि कहीँकतै यस्ता गुन्जायस देखिए भने, रहे भने त्यतिबेला तपाईंहरूलाई कसैले बोक्नेवाला छैन । साथ दिनेवाला छैन,’ उनले थपे, ‘यसमा तलमाथि भयो भने जनतामा ठुलो निराशा आउन सक्छ । कुनै पनि किसिमको नीतिगत भ्रष्टाचारको वा स्वार्थ अनुकूलका काम गर्ने भएको छ भने त्यसलाई पूरा निरुत्साहित बनाउनुपर्छ ।’

मन्त्री गिरीले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न पनि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराए । उनले स्वास्थ्य उपकरणहरूको दुरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने बताए ।

उनले विभागले महँगोमा उपकरण खरिद गर्ने तर जनताले त्यसबाट सेवा नपाउने अवस्था आइरहेकाले त्यस्तो अवस्था आउन नदिने गरी काम गर्न पनि निर्देशन दिए । 

मन्त्री गिरीले जनताको गुनासो सम्बोधन हुने गरी आवश्यक योजना बनाएर काम गरे आफूले त्यसमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे । 

त्यसक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले आफू मातहतका निकायले सम्पादन गरेका कामबारे मन्त्री गिरीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्