Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्याङ्जामा पढ्दै कमाउँदै प्रभावकारी

बिहीबार, माघ १९, २०७९

स्याङ्जा –बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गल्याङ नगरपालिका–११ बज्रेस्थित विद्यालयले अध्ययनसँगै श्रम र सीप विस्तार गर्नेगरी सञ्चालन गरेको कार्यक्रमअन्तरगत कक्षा ६ देखि १० सम्मका विद्यार्थीको सक्रियतामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएको छ ।
‘एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम’अन्तर्गत ६७ विद्यार्थी प्रयोगात्मक सिकाइका लागि तरकारी बारीमा खटिने गरेका कक्षा १० मा अध्ययनरत अङ्कित नेपालीले बताए । विद्यालयमा पढाई हुने विषयमा सैद्धान्तिक ज्ञान लिने गरिन्छ तर कृषि विषय यस विद्यालयमा नभए पनि प्रयोगात्मक ज्ञान लिने अवसर मिलेकामा निकै खुसी भएको उनले बताए ।
यहाँ उत्पादन भएको विभिन्न तरकारीका बेर्ना र उत्पादित तरकारी बिक्री गरेर आम्दानी भएको रकम विद्यार्थीकै कोषमा आउने गरेकाले काम गर्न थप ऊर्जा र उत्साह मिलेको उनको भनाइ छ ।
कार्यक्रम सञ्चालनका लागि गत वर्ष नेपाल सरकारबाट प्राप्त हुने अनुदानका लागि विद्यालयले प्रस्ताव पेस गरेकामा छनोटमा परेपछि गत साउनदेखि यो कार्यक्रम सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद गैरेले बताए ।
कार्यक्रमका लागि  १० लाख रुपैया प्राप्त भएको थियो । विद्यालय नजिकै जग्गा भाडामा लिएर ७ वटा प्लाष्टिकका टनेल निर्माण गरी विभिन्न जातका तरकारी उत्पादन हुँदै आएको छ ।
उत्पादित बेर्ना तथा तरकारी बजारसम्म पु¥याउन विद्यालयले स्थानीय तरकारी व्यापारीसँग समन्वय गरिदिएकाले पनि सहज भएको छ । उत्पादित तरकारीको मूल्य विद्यालयले निर्धारण गर्ने र बिक्री भई आएको मूल्य ती विद्यार्थीको कोषमा जम्मा गरिन्छ । ‘बेर्ना तथा तरकारी बिक्रीबाट आएको रकमलाई आम्दानी बाँधेर विद्यार्थीको कोषमा जम्मा गरिदिन्छौँ’, प्रधानाध्यापक गैरेले भने, ‘कोषमा जम्मा भएको रकम विद्यार्थीको हाजिरीका आधारमा भुक्तानी गर्दै आएका छौँ ।’
विद्यालयमा हुने नियमित अध्ययनसँगै अतिरिक्त समय बारीमा गई कृषिसम्बन्धी प्रयोगात्मक ज्ञान लिने र उत्पादित तरकारी बिक्रीबाट आम्दानीसमेत लिँदै आइएकाले पनि यो कार्यक्रम प्रभावकारी बन्दै गएको उनको जिकिर थियो । विद्यार्थीले काँक्रा, घिरौँला, चिचिण्डो, फर्सी, करेला, लौका, बोडी, सिमी, साग, काउली, बन्दा, मूला, गाजरलगायत तरकारीका बेर्ना तथा तरकारी नै बिक्री गरी आम्दानी लिँदै आएका हुन् । 

 


 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्