Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्राउन्ड लेभलसम्म लगानी प्रवाह गरे मात्रै अर्थतन्त्र चलायमान हुन्छ : व्यवसायी

बिहीबार, माघ १९, २०७९

काठमाडौँ– सरकारले स्थानीय स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्न सकेमात्रै निजी क्षेत्रको मनोबल उच्च हुने व्यवसायीहरूले बताएका छन् ।
चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक रहेको व्यवसायीहरूले बताएका हुन् ।
आर्थिक मिडिया सञ्चालक संघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरूले सरकारले स्थानीय स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्नसके मात्रै निजी क्षेत्रको मनोबल उच्च हुने बताए ।
उनीहरूले निजी क्षेत्रको मनोबल उच्च भए मात्रै उद्योग क्षेत्रमा लगानी बढ्ने दाबी गरे । उनीहरूले विगतमा सरकारले लिएका अर्थनीतिहरूमा एक्कासि परिमार्जन गर्दा अर्थतन्त्रमा देखिएका समस्याले उद्योगी व्यवसायीहरू मारमा परेको बताए ।
अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर बजारमा गरेको कडाइका कारण अर्थतन्त्रमा समस्या देखिएको उनीहरूको भनाइ थियो । 
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको चुनौतीपूर्ण अर्थतन्त्रलाई माथि उकास्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय तरलता, शोधनान्तर स्थितिमा अर्थतन्त्र बचेको अवस्था रहेको बताए ।
नेपालको अर्थतन्त्र बंगलादेश, श्रीलंका र पाकिस्तानको भन्दा धेरै राम्रो अवस्थामा रहेको भन्दै उनले सरकारले मुलुकको अर्थतन्त्र चलायमान बनाउन लगानीयोग्य रकम स्थानीय तहसम्म प्रवाह गर्न जरुरी रहेको जनाए । 
उनले ग्राउन्ड लेभलसम्म तरलता सहज भए २० प्रतिशत संकुचन आएको राजस्व पनि उठ्ने र निजी क्षेत्रको मनोबल उच्च भई लगानी बढ्ने दाबी गरे ।
अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितोकर्जाका लागि ४/१२ को नीति ल्याएकाले मुलुकको अर्थतन्त्रमा ठुलो असर परेको उनको दाबी छ । नेपालको पुँजीबजारमा ४० लाखभन्दा बढी डिम्याट खाता रहेको उनले जानकारी दिए । 
उनले राष्ट्र बैंकले मौद्रिक नीतिमा ४/१२ को सेयर धिताकर्जामा सीमा लगाउँदा नेप्से ३ हजार अंकमाथि रहेको बताउँदै सेयर धितोकर्जामा लगाइको सीमाले ४० लाख लगानीकर्तामा मानसिक रूपमा असर पर्दा सेयर बजार संकटमा परेको बताए ।
सेयर बजार संकटमा पर्दा राज्यले २ महिनाको अग्रिम करबापत पाउने ६ अर्ब रुपैयाँसमेत गुमेको बताउँदै अध्यक्ष गोल्छाले राष्ट्रले सेयर धिातोकर्जामा सीमा निर्धारण गर्दा बैंकिङ प्रणालीको निक्षेपमा सरदर ४७।५० खर्ब रहेको र कुल कर्जा ४४।५ खर्ब, सेयर धितोकर्जामा १।०२ खर्ब अर्थात कुल कर्जाको २।२९ प्रतिशत मात्रै प्रवाह भएकाले नेपालमा पुँजी बजारको आवश्यकता देखिएको बताए ।
वर्तमान सरकार आएसँगै पुँजी बजार सुधार हुँदै गएको उनको भनाइ छ ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले वर्तमान सरकारको पहिलो आवश्यकता निजी क्षेत्रको मनोबल कसरी उच्च बनाउनेमा केन्द्रित हुनुपर्ने बताए । उनले पछिल्लो समय निजी क्षेत्र बैंकको उच्च ब्याजदरका कारण समस्यामा रहेको भन्दै बैंकको बेसरेट र निक्षेपको ब्याजदर वृद्धि गर्दा कर्जाको ब्याजदरमा समेत उच्च भएको बताए ।
बैंकहरूले विगतमा पैसा धेरै हुँदा २ प्रतिशतसम्म कर्जा दिएर अहिले ७ प्रतिशतसम्म ब्याजदर कायम गर्दा बैंकको ब्याजदर उच्च भएर निजी क्षेत्र मारमा परेको उनको दाबी छ । 
नेपालको अनौपचारिक अर्थतन्त्र भनेको कालो धन नभएको बताउँदै अग्रवालले विगतमा कमाएको पैसालाई अभिलेखीकरण नगरेकाले अहिले त्यो पैसा बैंकिङ प्रणालीमा आउन नसकेको भन्दै बैंकिङ च्यालनमा आउन स्रोत देखाउनुपर्ने अवस्था रहेको बताए ।
जुन देशका उद्योगी व्यवसायीसँग पैसा हुँदैन, त्यो देशले कहिल्यै पनि समृद्धि हासिल गर्न नसक्ने उनको धारणा छ । 
उपाध्यक्ष अग्रवालले सरकारले आर्थिक नीतिहरू समय अनुकूल मात्रै परिमार्जन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्