Nic Ad Nic Ad
Nic Ad Nic Ad

पक्राउ परेसँगै अरूण चौधरीको सांसद पद निलम्बित

बिहीबार, माघ १९, २०७९

काठमाडौं–कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी अरुण चौधरी पक्राउ परेसँगै सांसद पदबाट निलम्बित भएका छन् । 
उनी नागरिक उन्मुक्ति पार्टीकोतर्फबाट उम्मेदवार भएर चुनाव जितेका थिए । 
ट्याक्टरमा आगजनी मुद्दामा ९ वर्ष भन्दा बढी समयदेखि फरार चौधरीलाई बिहीबार बाँकेबाट प्रहरीले पक्राउ गरेको हो । 
चौधरी पक्राउ परेको सूचना प्रहरीले संसद सचिवालयलाई जानकारी गराएपछि उनको पद स्वतः निलम्बित हुन्छ । 
प्रहरीबाट सूचना आएपछि संसद सचिवालयले उनी निलम्बनमा परेको सूचना टाँस गर्नेछ ।
संसद् बैठक बस्ने अवस्थामा भने सभामुखले सांसद निलम्बनको सूचना बैठकमै सुनाउनुपर्ने कानुनी व्यवस्था छ । 
संसद्को बैठक माघ २२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकअघि नै सचिवालयले सूचना टाँस गरेर चौधरी निलम्बित भएको प्रमाणित गर्नेछ ।
प्रहरीले चौधरीलाई धनगढी लैजाने तयारी गरेको छ । संसद्को कार्यकाल बाँकी रहँदै उनले कैद सजाय भुक्तान गरे भने पुनः सांसदका रूपमा क्रियाशील हुन पाउने छन् । 
नेपालको संविधानले प्रतिनिधिसभाको कार्यकाल सुरु भएपछि कुनै पनि सांसदलाई पक्राउ गर्न नपाउने विशेषाधिकार दिएको छ । तर, फौजदारी अभियोगमा भने त्यस्तो विशेषाधिकार कायम रहँदैन । 
फौजदारी अभियोगमा कुनै सांसदलाई पक्राउ गरेको अवस्थामा प्रक्राउ गर्ने निकायले संसद्को प्रमुख अधिकारीलाई तुरुन्त सूचना दिनुपर्ने कानुनी प्रावधान छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्