नेभिगेशन
समाज विविध

सकियो १ महिने माधवनारायण व्रत

काठमाडौँ– माधवनारायण स्वस्थानीका व्रतालुहरूले बिहीबार भक्तपुरको चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।
उनीहरूले चाँगुनारायणमुनिको जंगलमा कृत्रिम पोखरी बनाएर स्नान गरेपछि चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् ।
१ महिने स्वस्थानी व्रतका क्रममा माधवनारायणलाई विभिन्न स्थानको भ्रमण गराउने प्रचलनअनुरूप व्रतालुहरू बुधबार साँझ नै चाँगुनारायण पुगेका थिए । व्रतालुहरू खाली खुट्टा साँखुदेखि हिँडेर चाँगुनारायण पुगेका थिए ।
स्वस्थानी सुरु भएदेखि नै माधवनारायणको ‘परदेश’ यात्रामा व्रतालुहरू थिए । चाँगुनारायणको दर्शन गरेपछि यस वर्षको माधवनारायणको परदेश यात्रा सकिएको छ । 
माधवनारायण भगवान् विष्णुको अवतार भएको र लिच्छवीकालदेखि नै व्रतालुले विभिन्न क्षेत्रको भ्रमण गराउँदै आएको संस्कृतिविद्हरूको भनाइ छ ।
स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार १ महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे पतिको आयु बढ्ने र अविवाहिताले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । 
स्वस्थानीका व्रतालुले माधवनारायणको दर्शन नगरे व्रत पूरा नहुने र फल प्राप्त नहुने धार्मिक विश्वाससमेत छ ।
स्वस्थानीका व्रतालु महिलाहरूले रातो र माधवनारायणका पुरुष व्रतालुले सेतो वस्त्र मात्र लगाउनुपर्ने परम्परा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध