सरकारमा रहने वा नरहने निर्णय गर्न बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक
काठमाडौँ– सरकारमा रहने वा नरहने भन्नेबारेमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसिरहेको छ ।
बसुन्धरास्थित पार्टी कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
पार्टी सभापति रवि लामिछानेलाई सरकारमा गृहमन्त्रीका रूपमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा नरहने चेतावनी दिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै गृह मन्त्रालय दिनुपर्ने बताउँदै आएका छन् ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको कारण देखाउँदै सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको थियो ।
त्यससँगै लामिछानेको उपप्रधान तथा मन्त्रीको पद पनि गुमेको थियो । लामिछानेले गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका छन् ।
त्यसपछि उनले सांसद नभएको व्यक्तिलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन मिल्ने संवैधानिक प्रावधान अनुसार पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसँग माग गरिरहेका छन् ।
तर, लामिछानेको मुद्दामा अदालतले फैसलाको पूर्ण पाठ नदिइसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले उनलाई सरकारमा सहभागी गराउन अस्वीकार गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाउने भएपछि पार्टीको आगामी रणनीति के हुने भन्नेबारेमा लामिछानेले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिरहेका छन् ।