‘रेडियोएक्टिभ क्याप्सुल’ भण्डारणका लागि पर्थ लगिँदै
सिड्नी– बुधबार फेला परेको ‘रेडियोएक्टिभ क्याप्सुल’ हाल न्यूम्यानबाट गाडीमा पर्थतर्फ पठाइएको पश्चिमी अस्ट्रेलिया (डब्ल्यूए)का अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।
राज्यको डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेज (डीएफईएस)को नेतृत्वमा गरिएको खोजीपछि क्याप्सुललाई रेडिएसन–प्रुफ लिड कन्टेनरमा राखी पर्थतर्फ पठाइएको हो ।
अस्ट्रेलियन डिफेन्स फोर्स र अस्ट्रेलियन न्युक्लियर एन्ड साइन्स टेक्नोलोजी अर्गनाइजेसनका १४ जना कर्मचारीले क्याप्सुललाई सुरक्षा दिइरहेका बताइएको छ ।
डीएफईएसका अनुसार क्याप्सुललाई पर्थमा विभागको नियामक प्राधिकरण डब्ल्यूए हेल्थले भण्डारण गर्नेछ । त्यहाँ यसलाई सुरक्षित रूपमा भण्डारण गर्ने सुविधा छ ।
यसअघि खानी कम्पनी रियो टिन्टोले पिलबारा क्षेत्रमा रहेको गुडाई–दरी फलाम खानीबाट ढुवानी गर्दै गर्दा हराएको क्याप्सुल भेट्टाउन खोजीमा खटिएका अधिकारीप्रति सरकारले कृतज्ञता व्यक्त गरेको थियो ।
‘रियो टिन्टो आयरन ओर’का प्रमुख कार्यकारी सिमोन ट्रोटले भने, ‘क्याप्सुलको बरामदी खोजी टोलीको कौशल र दृढताको ठूलो प्रमाण हो । क्याप्सुल हराउनुहुँदैनथ्यो हरायो । तर फेला परेको छ यसैमा हामी खुशी हुनुपर्छ ।’
उनले भने, ‘हामीले यो घटनालाई गम्भीरतापूर्वक लिइरहेका छौं यो कसरी भयो भन्नेबारे पूर्ण र गहन अनुसन्धान गरिरहेका छौं ।’