चीनको यस्ताे कम्पनी जसले कर्मचारीलाई बाँड्यो १ अर्ब बढी रूपैयौँ
काठमाडौँ – विभिन्न कम्पनीमा काम गर्ने कर्मचारीले कम्पनीका बारेमा सोचेर काम गर्छन् । त्यसमा पनि कुनै कम्पनीले कर्मचारीलाई १ अर्ब रूपैयाँ पुरस्कारको व्यवस्था गरेपछि कर्मचारीले अझ कसरी काम गर्छन् होला ?
यो सुन्दा सबैको मनमा प्रश्न आउँछ कुन कम्पनी होला ? कतिले त यो झुटो हो पनि भन्छन् होला । तर, चीनको १ कम्पनीले यसलाई साँचो बनाएको हो ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार चीनको १ कम्पनीले पार्टीका क्रममा स्टेजमा नगदको थुप्रो राखेको थियो । कम्पनीका मालिकले आफ्ना कर्मचारीहरूलाई ६१ मिलियन युआन (१,१६,४५,०३,८७९) पैसा बाँडेको हो ।
कम्पनीले पहिले स्टेज बनाए र त्यस स्टेजमा २ मिटर अग्लो नोटको थुप्रो राख्यो, जसमा ६१ मिलियन युआन अर्थात् १ अर्ब १६ करोड रुपैयाँभन्दा बढी थियो। त्यसपछि १/१ गरी ती नोटहरू कर्मचारीहरूमा बाँडियाे। चीनको हेनान प्रान्तको कर्मचारीहरूलाई नोट वितरण गर्ने कम्पनीको नाम हेनान माइन हो, जुन क्रेन उत्पादक हो।
समाचार आउटलेटका अनुसार हेनान माइन फर्मका ३ उत्कृष्ट प्रदर्शन गर्ने बिक्री प्रबन्धकहरूले ५० लाख युआनको शीर्ष पुरस्कार प्राप्त गरे। अर्कोतर्फ अन्य ३० जनाभन्दा बढीले कम्तीमा १० लाख युआन प्राप्त गरेका छन् ।
चिनियाँ सञ्चारमाध्यमका रिपोर्टका अनुसार कोरोनाको यो युगमा पनि कम्पनीले यस आर्थिक वर्षमा नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा यसपटक २३ प्रतिशत बढी नाफा आर्जन गरेको छ । विशेष कुरा के छ भने कम्पनीले हरेक वर्ष कर्मचारीको औसत तलब पनि ३० प्रतिशतले बढाएको छ ।