कांग्रेसले सत्ता खोज्नु पर्दैन, आफैँ आउँछ : पूर्वमन्त्री कार्की
काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसले सत्ता खोजेर हिँड्नु नपर्ने बताएका छन् ।
कांग्रेस नेपालको राजनीतिको केन्द्रबिन्दुमा रहेको भन्दै उनले भने, ‘कांग्रेसका अगाडि सत्ता आउनुपर्छ, आउँछ ।’ कांग्रेस नेता कार्कीले सत्ताका लागि आफ्नो पार्टीले मरिहत्ते गर्नुपर्ने अवस्था नरहेको बताए ।
सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
यस्तै उनले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गरेका छन् । नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको तर्क गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको जिकिर गरे ।
‘राष्ट्रपतिमा मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमति हुन्छ भन्नु त्यो बालहठ हो । र, त्यो बालहठले मुलुक अगाडि बढन सक्दैन,’ उनले भने, ‘र, यो सम्मानित संस्थाको नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नुपर्छ । त्यो व्यक्तित्व नेपाली कांग्रेसभित्र नै छ ।’