Nic Ad Nic Ad
Nic Ad Nic Ad

'नेपालको विकासले भारतलाई पनि फाइदा पुग्छ’

शुक्रबार, माघ २०, २०७९

जनकपुरधाम– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । 

नेपाल–भारत मैत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबैखालको सहयोग गर्न पूर्ण रूपमा लागिपरेको समेत स्पष्ट पारे । 

जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न भारत सरकार लागिपरेको बताउँदै राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमा नै प्रगाढ रहेको उल्लेख गरे । 

‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छँदै छ । त्योभन्दा पनि बढी जनस्तरको सम्बन्ध छ,’ उनले भने, ‘भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो । मित्रताको साथमा विकासमा पनि भारतको जोड छ ।’

राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्