कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
काठमाडौँ –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । शनिबार बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो ।
बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपति निर्वाचको विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुँदै छ । यस्तै निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ । दुईवटै निर्वाचनका लागि प्रतिपक्षी दलहरू कसरी अघि बढ्ने भनेर कांग्रेसले तयारी गर्न बैठक बोलाएको हो ।
सरकारमा नभएका दलहरूसहित सरकारलाई समर्थन दिएको जसपा, नागरिक उन्मुक्ति पार्टीलाई पनि कांग्रेसले बैठकमा बोलाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ १५:४१
प्रतिक्रिया दिनुहोस्