Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

शुक्रबार, माघ २०, २०७९

सिन्धुपाल्चोक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । 

शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । 

विद्यालयको भवन चीनको सहयोगमा बनेको हो । 

प्रधानमन्त्रीले भने, ‘विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ । भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको छु ।’ 

सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘दुःख र सुखमा म तपाईहरूको साथसाथै छु । जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनास लगायतका सबै पीडामा म तपाईहरूसँग सँगै छु । म तपाईहरूसँग ऐक्यवद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस भएको छ’, उनले भने ।

अहिले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेको र त्यसलाई सुधार गर्नको लागि सरकारले काम गरिरहेको उनले बताए । 

‘मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिइएको छ’, प्रचण्डले भने, ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबिच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः गति लिनेछ ।’

शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने पनि प्रचण्डले बताए । 

कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गलगायतले सम्बोधन गरेका थिए ।

prachanda21675420776.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्