नेभिगेशन
समाज विविध

सन्दिप लामिछानेको निलम्बन फुकुवाको निर्णय तत्काल फिर्ता हुनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपाल क्रिकेट संघ (क्यान)ले गरेको सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय तत्कालन फिर्ता हुनुपर्ने बताएका छन् । 

शुक्रबार साँझ फेसबुक स्टेटस लेख्दै थापाले बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुने बताएका हुन् । 

उनले भनेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्नु भएको छ । मेरो धारणा स्पष्ट छ– बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न ।’ 

एक साता अघि नै सन्दिप लामिछानेको निलम्बन फुकुवाको सन्दर्भ आउँदा क्यानका अध्यक्षलाई भेटेर अदालतको फैसला नआउँदासम्म हतार निर्णय नगर्न भनेको थापाले उल्लेख गरेका छन् । 

‘यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ)लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ । उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो । तर त्यसो हुन सकेन ।’

क्यानले सन्दिपका बारे हतारमा गरेको निर्णय गलत रहेको र तत्कालन फिर्ता हुनुपर्ने थापाले बताएका छन् । 

‘पुनः दोहोर्‍याउन चाहन्छु– बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ । नो इफ, नो बट ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध