नेभिगेशन
समाज विविध

पोखरामा खाद्य परीक्षण सुरु

पोखरा–साउन १ गते अघिसम्म गण्डकी प्रदेशभर बजार अनुगमनका क्रममा देखिएका त्रुटि परीक्षण गर्न काठमाडौँ र भैरहवा पुर्‍याउनुपर्ने बाध्यता थियो । जसले कारवाहीमा ढिला हुन्थ्यो । नतिजा ढिला आउँदा कार्यप्रगति पनि सोचेअनुरुप देखिने गरेको थिएन । 

पछिल्लो समय पोखरामा खाद्य प्रयोगशाला स्थापनापछि गण्डकी प्रदेशका ११ जिल्लाको काममा निकै प्रगति देखिएको छ । बजार अनुगमनका क्रममा देखिएका त्रुटि परीक्षण गर्न काठमाडौँ र भैरहवा पुर्‍याउनुपर्ने बाध्यता हटेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले प्रयोगशाला सञ्चालनमा ल्याएको हो । पोखरामा प्रयोगशाला बनेपछि बजार अनुगमनसहित खाद्य सुरक्षामा सहज भएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवजी बरालले बताए ।

गण्डकीमा खानेतेल, पानी, दुग्धजन्य पदार्थ तथा खाद्यन्नलगायतमा मिसावट हुने गरेको उनको भनाइ छ ।

‘गण्डकी प्रदेशभित्र खानेतेल, पानी, दुग्घजन्य पदार्थ तथा खाद्यन्नमा मिसावट धेरै भेटिएको छ’ निमित्त प्रमुख बरालले भने, ‘ विभागले त्यसमा केन्द्रीत हुँदै अनुगमन गर्दै आइरहेको छ । केही त्रुटि भेटिने बित्तिकै तत्काल हाम्रै प्रयोगशालामा परीक्षण गर्छौँ ।’

साउनदेखि पुस मसान्तसम्म ५७५ वटा नमूनाको परीक्षण गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिए ।

प्रदेशको राजधानीमा भएको प्रयोगशालाबाट अधिकांश खाद्य वस्तु परीक्षण हुने उनले जानकारी दिए । ‘हामीले यहाँबाट सागपातमा हुने विषादीको नमूना परीक्षण गर्न सक्दैनौँ’, खाद्य अनुसन्धान अधिकृत कुँवरले भने, ‘त्यो बाहेक दूध, पानी, मासुलगायत खाद्यवस्तुको माइक्रोबायलोजी हेर्ने, खाद्यवस्तुको पारामिटर हेर्ने सामथ्र्य राख्छौँ ।’

उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष अपिलनाथ कोइरालाले पोखरामा स्थापना भएको प्रयोगशालाले बजार अनुगमनको काम छिटो भएको बताए।

पोखरामा रहेको कार्यालयले कास्की, स्याङ्जा र पर्वत जिल्लामा खाद्य गुणस्तर जाँच गर्ने काम गर्छ । बाग्लुङको कार्यालयले बाग्लुङसहित म्याग्दी र मुस्ताङ हेर्छ । तनहुँ कार्यालयले तनहुँुसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरमा काम गर्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध