झरही खोला नियन्त्रण गर्न तटबन्धसहितको करिडोर निर्माण सुरु
नवलपरासी – नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिँदै झरही खोलामा तटबन्धसहितको करिडोर निर्माण थालेको छ ।
गत वर्षको बाढीले परासी बजार जलमग्न हुनुका साथै करोडौँको क्षति भएपछि नगरपालिकाले झरही खोला नियन्त्रणको काम सुरु गरेको हो । जसका लागि नगरपालिकाले यस वर्ष १ करोड बजेट विनियोजन गरेको छ । तटबन्ध लगाएर करिडोर निर्माणको योजनामा रहेको नगरपालिकाले बजेट अभाव भएपछि प्रदेश र सङ्घीय सरकारसँग बजेट व्यवस्था गर्न माग गरेको छ ।
नगरप्रमुख धनपत यादवले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री धुव्र प्रधानलाई भेटेर बजेट व्यवस्था गर्न माग गरेका हुन्।
नगरप्रमुख यादवका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री प्रधानले आफूले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर बजेटको व्यवस्था गर्न पहल गर्ने बताए । मन्त्रालयमा नगरपालिकाको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले अन्य मन्त्रालयसँग यस विषयमा कुरा भइरहेकाले आवश्यक बजेट व्यवस्था गर्ने बताए ।
नगरपालिकाले रामग्राम ७ उजैनीदेखि रामग्राम १ सहुवाटिकरसम्म तटबन्ध र करिडोर निर्माणका लागि सङ्घीय सरकारसँग १० करोड माग गरेको नगरप्रमुख यादवले बताए। अहिले नगरपालिकाले झरही खोला पुलदेखि काम पनि सुरु गरेको छ । अन्य खोलाको पनि सफाइ र डुबान कटान नियन्त्रणका लागि स्काभेटर खरिद गर्न लागिएको नगरपालिकाले जनाएको छ।