Nic Ad Nic Ad
Nic Ad Nic Ad

वडाले जग्गा लिजमा लिएर गरिब किसानलाई दिने

शनिबार, माघ २१, २०७९

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले वडाका गरिब परिवारलाई लिजमा जग्गा दिने भएको छ । ६ महिनासम्म खाना नपुग्ने गरिब घरपरिवार पहिचान गरी प्रत्येक परिवारलाई ५ कट्ठाका दरले जग्गा दिने भएको छ । 

samridhi jewllers

वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए। 

‘हाम्रो वडामा अधिकांश खेती किसानी गरेर जीवन निर्वाह गर्ने समुदाय छ, उहाँहरुको जीवन निर्वाहकालागि हामीले यो योजना अघि बढाएका हौँ,’ उनले भने ।

त्यसका लागि सूचनासमेत प्रकाशन गरिएको छ । फागुन महिनासम्म सूचना आह्वान गरिएको र त्यसपछि गरिब घरपरिवार तथा बेरोजगारको मूल्याङ्कन गरेर जग्गा दिने उनको भनाइ छ । ‘हामीले प्रत्येकलाई ५ कट्ठा जग्गा दिने छौँ, त्योबापत कुनै रकम पनि लिइनेछैन,’ अध्यक्ष रावतले भने । 

किसानलाई त्यो जग्गामा फलफूल तथा तरकारी खेती गर्नुपर्नेछ । उत्पादन भएको तरकारी बजारीकरण गर्ने जिम्मा पनि वडाले नै लिने वडाध्यक्ष रावतको भनाइ छ ।

उत्पादन भएको तरकारी बजारीकरणमा पनि उत्तिकै समस्या रहने गरेको भन्दै त्यसलाई बजारीकरणमा पनि वडाले नै जिम्मा लिने उनले बताए। बीउ, मलमा पनि सहयोग गर्ने उनले बताए। त्यहाँ करिब २० बिघा क्षेत्रफलमा सिँचाइ गर्न जलाशय निर्माण भएको र त्यसलाई लिफ्टमार्फत खेतमा पु¥याउने तयारी छ । करिब ३० लाखमा त्यहाँ जलाशय निर्माण गरिएको हो ।  

वडाले किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । केही समय अघि उत्पादित कृषिजन्य वस्तु घोडामार्फत बजार लैजाने व्यवसायीलाई प्रोत्साहनस्वरुप १० हजार उपलब्ध गराइएको थियो । त्यस्तै भैँसीपालन व्यवसायीलाई पनि प्रोत्साहन गर्ने तयारी रहेको वडाध्यक्ष रावतले बताए। व्यावसायिकरुपमा भैँसीपालन व्यवसाय गरेकालाई दानाका लागि सहयोग गर्ने उनले  बताए।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्