Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै

शनिबार, माघ २१, २०७९

गण्डकी– गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । 

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी हुन्। प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशाधनको प्रक्रिया अगाडि बढाएको हो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने सरकारको लक्ष्य छ ।

विनियोजन ऐन संशोधन विधेयकमाथि आउँदो मङ्गलबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । शुक्रबारको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले विकास निर्माण र जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा सदस्य लिलबहादुर थापाले प्रदेशको स्वायत्त अधिकारलाई स्थापित गर्नुपर्ने बताए। उनले समृद्ध गण्डकीको लक्ष्य पूरा गर्न साझा योजना र सङ्कल्प चाहिने उल्लेख गरे। अर्का सदस्य पद्मा जिसीले नवलपुरका किसानले मल, बीउ र सिँचाइ सुविधा नपाएकोबारे सरकारको ध्यानाकर्षण गराइन्। उनले पछिल्लो समय बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विशेष योजना ल्याउनुपर्ने बताइन् ।

प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलले स्याङ्जाका किसानले चिस्यान केन्द्रमा राखेको २९३ टन सुन्तला कुहिएकाले उचित क्षतिपूर्ति दिइनुपर्ने माग राखेका थिए। प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकारले पहल लिनुपर्ने उल्लेख गरेका थिए।

अर्का सदस्य हरिबहादुर भण्डारीले पटकपटक म्याद थप हुँदा पनि म्याग्दी जिल्ला अस्पताल भवन निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। प्रदेशसभा सदस्य विन्दु अधिकारी पहाडीले एकल महिलालाई आत्मनिर्भर बनाउन सीप र प्रविधि दिनुपर्ने बताइन्। 

प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले प्रदेश संरचनाको औचित्यमाथि उठिरहेको प्रश्नको भरोसायोग्य जवाफ दिनुपर्ने धारणा राखे ।  उनले प्रदेशसभाको पहिलो कार्यकालमा भएका कामकारबाहीबारे स्वेतपत्र जारी गर्नुपर्ने बताएका छन्। 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्